बागमती प्रदेशः डढेलोबाट नौ हजार छ सय हेक्टर वनमा क्षति

बागमती- बागमती प्रदेशको विभिन्न जिल्लास्थित सामुदायिक वनमा बर्सेनि हुने वन डढेलोका कारण थुप्रै नवजङ्गल तथा बिरुवा विनाश हुने गरेका छन् । मानवीय लापर्वाहीका कारण हुने डढेलोबाट मानवीय क्षतिसँगै वनस्पति, जीवजन्तु र जैविक विविधतामा क्षति हुने गर्दछ ।
गत माघदेखि चैतसम्म बागमती प्रदेशका विभिन्न जिल्लामा डढेलोका कारण करिब नौ हजार ६०० भन्दा बढी हेक्टर वनमा क्षति पुगेको प्रदेशका वन निर्देशनालयका सूचना अधिकारी टेकनारायण श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार डढेलोबाट सबैभन्दा बढी चितवनमा चार हजार २२१ हेक्टर वन क्षेत्रमा क्षति पुगेको छ भने सबैभन्दा कम दोलखामा २३ दशमलव ५५ हेक्टर क्षेत्रफलमा नोक्सानी भएको छ ।
रामेछापमा एक सय ५०, सिन्धुलीमा पाँच सय ९२, रसुवामा एक सय ६४ दशमलव एक, धादिङ्गमा दुई सय ९८, काभ्रेमा एक सय ८९ र नुवाकोटमा ६७ हेक्टर वन क्षेत्रमा क्षति भएको बागमती प्रदेश वन निर्देशनालयले जनाएको छ ।
ती जिल्लाका सामुदायिक वनहरूमा लागेको डढेलोबाट करिब १५ लाखभन्दा बढी बोटबिरूवा जलेर नष्ट भएका सूचना अधिकारी श्रेष्ठले बताउनुभयो । उहाँका अनुसार डढेलोका कारण मकवानपुरको राप्तीमा एक जनाको मृत्यु भएको छ ।
जङ्गलमा लागेको डढेला बस्तीसम्म पुग्दा रामेछापमा तीन जनाको चार वटा घर, दुई वटा गोठ, आधा दर्जन बाख्रा र ३५ वटा कुखुरा जलेर मरेका डिभिजन वन कार्यालय रामेछापका प्रमुख उमाशङ्कर जयसवालले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्लामा गत वर्ष लागेको डढेलोले वनका कलिला बिरूवा नष्ट गरेको छ ।
गाउँ बस्तीमा समूहहरू निर्माण गरेर डढेलोसम्बन्धी सचेतनामूलक कार्यक्रम सञ्चालन गरेपछि अघिल्ला वर्षको तुलनामा गत वर्ष करिब ६० प्रतिशतले डढेलो नियन्त्रणमा आएको प्रमुख जयसवालले बताउनुभयो ।
“डढेलो नियन्त्रणका लागि पालिकास्तरीय समितिहरू बनाएका छौँ, सुरक्षा निकायसँग पनि निरन्तर समन्वय भइरहेको छ”, प्रमुख जयसवालले भन्नुभयो, “डढेलो लागेलगत्तै हामी ती समूहहरूसँगै नियन्त्रणमा जुटिहाल्छौँ, त्यसमा सुरक्षाकर्मीको पनि साथ पाइरहेका छौँ ।” अघिल्लो वर्ष करिब एक हजार ८०० हेक्टरमा लागेको डढेलो गत वर्ष छ सय ५० हेक्टर क्षेत्रफलमा मात्र लागेको उहाँले जानकारी दिनुभयो ।
बागमती प्रदेशको कूल क्षेत्रफलको ५९ दशमलव २७ प्रतिशत अर्थात् १२ लाख ४३ हजार ८४४ हेक्टर जमिन वन क्षेत्रले ओगटेको छ । बर्सेनि हुने डढेलो नियन्त्रण गर्न प्रदेशका जिल्लाहरूमा सचेतनामूलक कार्यक्रमसँगै ह्याढडपम्पसहिका उपकरण वितरण गरिएको प्रदेश वन निर्देशनालयका सूचना अधिकारी श्रेष्ठको भनाइ छ ।
दोषी कानुनी दायरा नआउँदा समस्या
वनजङ्गलमा हुने डढेलोको मुख्य कारण मानवीय लापर्वाही हो । मानवका कारण वन क्षेत्रमा बर्सेनि डढेलो लाग्ने गरे पनि दोषीहरू कानुनी दायरा नआउँदा घटनामा कमी आउन नसकेको डिभिजन वन कार्यालय रामेछापका प्रमुख जयसवालले बताउनुभयो । उहाँका अनुसार वन क्षेत्रमा डढेलो लगाउने छ जनालाई यस वर्ष डिभिजन वन कार्यालयले पक्राउ परेको छ ।
“गाउँलेहरूले वनमा आगो लगाउनेको सूचना दिएपछि हामीले ती व्यक्तिलाई पक्राउ ग¥यौँ”, उहाँले भन्नुभयो, “त्यसपछि सरकारी वकिलमार्फत मुद्दा चलाउन प्रक्रिया अघि बढाउने क्रममा मुचुल्काका लागि यकिन बयान दिने व्यक्ति नभएपछि मुद्दा अघि बढ्न सकेन ।” वनसम्बन्धी ऐनमा डढेलो लगाउने व्यक्तिलाई रु ६० हजार जरिवाना, तीन वर्ष कैद वा दुवै सजाय हुनसक्ने कानुनी व्यवस्था छ ।

अन्तरजातीय विवाह गर्ने पाँच दम्पती सम्मानित

सरकार फेरबदलको हल्लाबारे बोले कांग्रेस सभापति देउवा

चर्को घाममा छालालाई कसरी जोगाउने ? यी हुन टिप्स

अस्पतालमा आकष्मिकबाहेक सबै सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा

यस्तो हुनेछ आज दिनभरको मौसम

ट्रयाक खुलेको १४ वर्षपछि पिपलबोट–पोक सडक स्तरोन्नति

अर्नाकोटमा सधैँ खानेपानीको सास्ती

प्रतिक्रिया