म्याग्दीमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम

म्याग्दी- महिलालाई व्यवसायमा आवद्ध गराई आत्मनिर्भर, स्वरोजगार र लैङ्गिक हिंसा न्युनीकरण गर्ने उद्देश्यले बेनी नगरपालिका–१ रत्नेचौर र वडा नं ५ पुलाचौरमा ‘आमा समूहसँग उपमेयर’ कार्यक्रम सञ्चालन भएको छ ।
समुदायस्तरमा महिला सशक्तीकरण र सामाजिक कामको अगुवाइ गरिरहेका आमा समूहसँग समन्वय गरेर महिलालाई स्थानीय स्रोतसाधन र सम्भावना भएको उद्यम व्यवसाय गरी आयआर्जनका काममा संलग्न गराउन कार्यक्रममार्फत सीप र प्रविधि सहयोग गरिएको छ ।
बेनी नगरपालिकाका उपप्रमुख ज्योति लामिछानेले आमा समूहलाई परिचालन गरेर महिलालाई आर्थिक रूपमा सक्षम, आत्मनिर्भर, स्वावलम्बी र सामाजिक रूपमा सशक्तीकरण गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरेको बताइन् ।
“महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेका हौँ,” उनले भने “आर्थिक वर्ष २०७९/०८० देखि सुरु भएको चालु आर्थिक वर्षमा रु २० लाख बजेट बिनियोजन भएको कार्यक्रम वडा नं १ र ५ मा लागू भएको छ ।”
महिला आर्थिक रूपमा सक्षम भए भने हिंसा न्यूनीकरण, रोजगारीको सिर्जना र आत्मनिर्भर भई समाजमा अगाडि आउन सक्ने वातावरण बनाउने प्रयास गरेको उपमेयर लामिछानेले बताइन् । नगर उपप्रमुख लामिछानेको प्रस्तावमा तीन वर्षअघि निर्वाचित कार्यपालिकाको पहिलो बैठकले यो कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको थियो ।
नगरपालिकाको महिला तथा बालबालिका शाखाका प्रमुख डमसरा पुनले पुलाचौर आमा समूहमार्फत सेतोढुङ्गा, पुलाचौर, नयाँगाउँ र डडुवामा १२५ जनालाई च्याउ खेती, १३२ जनालाई धुप बनाउने र १७ जनालाई सिलाई कटाई तालिम प्रदान गरिएको जानकारी दिइन् ।
च्याउ खेती र धुप बनाउने समूहलाई दुई/दुई दिन तालिम, विउ, एक/एक वटा टनेल सहयोग गरिएको छ । तीन महिने सिलाई कटाई तालिममा सहभागीलाई उपकरण पनि सहयोग गरिएको छ । रत्नेचौरमा २० जनालाई बाँसबाट सजावटका सामग्री बनाउने तालिम सुरु भएको छ ।
दुई वटा समूहलाई च्याउ खेतीसम्बन्धी तालिम र प्रविधि सहयोग गरिने नगरपालिकाले जनाएको छ । आर्थिक वर्ष २०७९/८० मा बेनी नगरपालिका–३ भकिम्लीमा कुखुरापालन र वडा नं ९ घतानमा चप्पल, दालमोड, नमकिन बनाउने तालिम सञ्चालन भएको थियो ।
गत २०८०/८१ मा बेनी नगरपालिका–१० पात्लेखेतमा सञ्चालन भएको कार्यक्रममा सहभागी महिलाले ब्यवसायिक रूपमा बाजा बजाउन र वडा नं २ खबरामा केराको थामबाट धागो बनाउने गरेका छन् ।
पुलाचौर आमा समूहका सचिव हिरा जिसी बानियाले बजारमा खपत हुने, बनाउन सजिलो, छिटो आम्दानी हुने भएकाले च्याउ खेती र धुप बनाउने सिप सिकेको बताइन्। “पहिलो चरणमा सामूहिक रूपमा च्याउ र धुप उत्पादन गर्छौँ,” उनले भने “परीक्षण सफल भएपछि व्यक्तिगत रूपमा व्यवसायिक हिसाबले ब्यवसाय गर्ने योजना छ ।”

२३ वर्षअघि ‘ट्याक’ खुलेको रत्नेचौर–भकुण्डे सडक कालोपत्रको तयारी

मुग्लिन पोखरा सडक : दमौली बजारस्थित बागबजार खण्डमा दोस्रो चरणको कालोपत्र सुरु

बेनी–दरवाङ सडकः आठ वर्षमा १७ किलोमिटर कालोपत्र

मुस्ताङ भ्रमण गर्ने विदेशी पर्यटक ५० प्रतिशतले बढे

बीस वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति
जसलाई बैशाख १२ कहिल्यै नआओस् जस्तो लाग्छ
३५ रोपनी जग्गामा खरबुजा फलाइरहेका कार्की-आचार्य

प्रतिक्रिया