सोमबार १५ बैशाख, २०८२
Monday, April 28, 2025

आस्थाको बन्दी रिहाईका लागि राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्ने

कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी, नेपालले आज काठमाडौंमा प्रदर्शन गर्दैछ ।

गत चैत १५ गते भएको राजावादीहरूको प्रदर्शन हिंसात्मक बने पछि पक्राउ परेका राप्रपाका उपाध्यक्ष रबिन्द्र मिश्रलगायत ६४ जना पक्राउको बिरोधमा राप्रपा नेपालले आज काठमाडौंमा प्रदर्शन गर्न लागेको हो । 

सो प्रदर्शन दिनको १ः३० बजे प्रदर्शनीमार्ग, भृकुटीमण्डपमा गरिने राप्रपा नेपालले जनाएको छ । ‘चैत १५ गते तीनकुनेमा भएको घटनाको वहानामा सरकारले ६४ जनालाई थुनामा राखेको छ, उनीहरू अपराधी होइनन, हिन्दु राष्ट्र र राजसंस्थासहितको प्रजातन्त्रको बिचारको संवाहक हुन, आस्थाका योद्धा हुन्,’ अध्यक्ष थापाले भनेका छन, ‘उनीहरू बेवारिसे छैनन्, सम्पूर्ण राष्ट्रवादीहरू उनीहरूको रिहाईको निम्ति प्रतिवद्धत छौँ, एक छौँ ।’

यसो त संयुक्त जनआन्दोलन समितिले राप्रपा नेपालले आयोजना गर्ने जनप्रदर्शनमा आफ्नो साथ रहेको बताएको छ । 

समितिका अध्यक्ष नवराज सुबेदीले यसअघि नै विज्ञप्ति जारी गर्दै वैशाख १५ गते काठमाडौंमा राप्रपा नेपालले आयोजना गर्ने जनप्रदर्शनमा आफ्नो पूर्ण साथ, सहयोग रहने जनाएको हो ।

‘राष्ट्रिय झण्डा लिएर उक्त जनप्रदर्शनमा सहभागी भइ सहयोग गरिदिन हुन आम नेपाली जनतालाई आह्वान गर्दछौँ,’ विज्ञप्तिमा उल्लेख छ ।