नागरिक उड्डयन क्षेत्रमा सुशासन ल्याउन विधेयक ल्याइएको हो : पर्यटनमन्त्री पाण्डे

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले मुलुकको नागरिक उड्डयन क्षेत्रमा सुशासन कायम गरी कानुनी पद्धतिलाई बलियो बनाउन विधेयक ल्याइएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकमा नेपाल नागरिक उड्डयन प्राधिकरण विधेयक, २०८१ को सैद्धान्तिक छलपलका क्रममा उठेका प्रश्नहरूको जवाफ दिँदै मन्त्री पाण्डेले हवाई क्षेत्रको सुशासन बलियो बनाउँदै यस क्षेत्रमा दक्ष जनशक्तिको प्रबन्ध गर्ने उद्देश्यले विधेयक ल्याइएको स्पष्ट पारे ।
पर्यटनमन्त्री पाण्डेले नेपालको पर्यटन क्षेत्रलाई चलायमान बनाउन तथा नेपाली हवाई आकाशलाई गतिशील तुल्याउन विधेयकले भूमिका खेल्ने विश्वास व्यक्त गरे । “दुई निकायलाई अलग–अलग भूमिका निर्वाह गर्नेगरी विधेयक ल्याउनुको अर्थ पद्धति बलियो बनाउने, सुशासन प्रवर्द्धनका साथै दक्ष जनशक्तिको प्रबन्ध गर्ने हो । यसबाट दक्षता विज्ञता आ–आफ्नो ढङ्गले अभिवृद्धि हुनेछ”, उनले भने ।
मन्त्री पाण्डेले नेपालका अन्तरराष्ट्रिय विमानस्थल र आन्तरिक विमानस्थललाई चलायमान बनाउन तथा नेपाली आकाशलाई गतिशीलरूपमा सञ्चालन गर्नुपर्ने आवश्यकता रहेको र उपयुक्त प्रयोजनका लागि नीति र कानुन बनाउनुपर्ने भएकाले प्रभावकारी र कार्यान्वयनमुखी संरचनाका लागि विधेयक अगाडि बढाइएको उल्लेख गरे । उनले प्रस्तुत विधेयकले कर्मचारीको अहिले भएको सेवासुविधा नघट्ने गरी विधेकयमा प्रबन्ध गरिने स्पष्ट पारे ।
“हिजोदेखि नै संशोधनको कार्य प्रारम्भ भएको र आजदेखि ७२ घण्टे अवधिमा थुप्रै संशोधनका प्रस्ताव आउनेछन्”, मन्त्री पाण्डेले भने, “मन्त्रालय वा सरकार कुनै किसिमको जडता नपालीकनै संशोधनहरूमाथि सार्थक संवाद गर्न तयार छ । विधेयकलाई समृद्ध बनाउने दिशामा दृढ सङ्कल्पका साथ अगाडि बढौँ ।” उनले विधेयकमा सकारात्मक उपलब्धि प्राप्ति गर्ने दिशामा सबै सरोकारवालासँग पनि छलफल गरिने विश्वास व्यक्त गरे ।
मन्त्री पाण्डेले भ्रष्टाचार नियन्त्रणमा मन्त्रालयले दृढताका साथ काम गर्ने विश्वास व्यक्त गरे । उनले सौर्य एयरलाइन्सको विमान दुर्घटनाबारे निष्पक्षताका साथ छानबिन भइरहेको र प्रारम्भिक प्रतिवेदन आइसकेको जानकाररी दिँदै अन्तिम प्रतिवेदन आएपछि प्रतिवेदनले औँल्याएका विषयलाई कुनै कसुर बाँकी नगरीकन जो कोहीलाई दण्डित गर्न दृढताका साथ लाग्ने विश्वास व्यक्त गरे । प्रतिनिधिसभाको अर्को बैठक यही वैशाख १६ गते मङ्लबार ११ बजे बस्नेछ ।
‘समाजवादको सुदृढीकरणका लागि बिपीको सिद्धान्त अनुसरण गर्न आवश्यक’

निर्यात वृद्धि गर्नेगरी नयाँ कृषि नीति छिट्टै ल्याइनेछ : मन्त्री अधिकारी

पूर्वप्रधानमन्त्री भट्टराई र भारतीय रक्षामन्त्री सिंहबीच भेटवार्ता
उपराष्ट्रपति यादव र बेलायतका राजदूत फेनबीच शिष्टाचार भेटवार्ता

निजी क्षेत्रले अर्थतन्त्रको विकासमा ठूलो टेवा पुर्याएको छ : सभापति देउवा

शिक्षकलाई विद्यालय फिर्ताको वातावरण बनाउन सांसदको माग

सिंहदरबारमा मेलम्चीको खानेपानी जडान गरिँदै

प्रतिक्रिया