जनकपुरमा जानकी जन्मोत्सव सुरु

महेन्द्रनगर (धनुषा)- पवित्र जानकी जन्मोत्सवका अवसरमा जनकपुरधामस्थित जानकी मन्दिरमा सोमबारदेखि औपचारिक कार्यक्रम सुरु भएको छ ।
जानकी मन्दिरले आयोजना गरेको कार्यक्रमअनुसार आजदेखि प्रत्येक दिन दिउँसो ४ बजे श्रीराम कथा वाचन र साँझ ७ बजे गर्भगृहमा जानकी जन्म बधाई मङ्गलगान तथा सांस्कृतिक कार्यक्रम सञ्चालन हुने मन्दिरका उत्तराधिकारी महन्थ रामरोशन दासले बताउनुभयो । साथै, अखण्ड रामायण पाठ पनि नियमित रूपमा जारी रहनेछ ।
जन्मोत्सवको मुख्य दिन वैशाख २३ गते मङ्गलबार बिहान ५ बजे जानकी मन्दिरबाट दूधमती नदीमा जानकीको शाही स्नान गरिनेछ । सोही दिन अपराह्न १२ बजे जन्म आरती तथा बधाई मङ्गलगान, दिउँसो ४ बजे डोला शोभा यात्रा र साँझ ७ बजे विशेष आरतीसहित दीपोत्सव आयोजना गरिने कार्यक्रम तय भएको छ ।
जानकी जन्मदेखि छठिहारसम्म हरेक दिन साँझ ७ बजे जानकी मन्दिरको गर्भगृहमा जन्म बधाई गान गाइन्छ । मन्दिर व्यवस्थापन समितिका अनुसार यही वैशाख २४ गते जनकपुरधाम उपासनाका लागि मटकोर कार्यक्रम आयोजना गरिने छ भने वैशाख २५ गते धार्मिक तथा सांस्कृतिक गीतसहित सीताराम विवाह महोत्सव मनाइनेछ ।
सोहीदिन मानस मोहिनी सध्या देवीबाट विशेष रामकथा वाचन कार्यक्रमसमेत गरिने उत्तराधिकारी दासले जानकारी दिनुभयो । उहाँका अनुसार जनकपुरधाममा जानकी जन्मोत्सव विशेष धुमधामका साथ मनाउन व्यापक तयारी गरिएको छ ।

वीरगञ्ज नाका हुँदै भित्रिने चार पाङ्ग्रे सवारीसाधनको आयात घट्यो

हात्तीको आक्रमणबाट विष्टको मृत्यु

२०३८ सालदेखि चार पटक शिलान्यास गरेको राजविराज बसपार्क बल्ल सञ्चालनमा

मारवाडी प्रिमियर लिगको उपाधि वीरगञ्ज बासर्सलाई

बलात्कारको अभियोगमा दुई जना पक्राउ

जङ्गली हात्तीको आक्रमणमा एक जनाको मृत्यु

५३ लाख बढीमा बागवानीको आँप ठेक्कामा

प्रतिक्रिया