कार्नीको जितपछि क्यानाडासँगको सम्बन्ध सुधार गर्न चीन तयार
बेइजिङ- प्रधानमन्त्री मार्क कार्नीले आफ्नो लिबरल पार्टीलाई सत्तामा अर्को कार्यकालका लागि नेतृत्व गर्न देशको चुनाव जितेपछि क्यानाडासँग सम्बन्ध सुधार गर्न खुला रहेको चीनले मङ्गलबार बताएको छ ।
“चीन आपसी सम्मान, समानता र आपसी लाभका आधारमा चीन–क्यानाडा सम्बन्ध विकास गर्न इच्छुक छ”, विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले भने ।
क्यानाडामा परिणामहरू लिबरलहरूको लागि असाधारण पुनरागमन हो । लिबरलहरू वर्षको सुरुमा चुनावबाट बढारिनेतर्फ उन्मुख देखिन्थे ।
बेइजिङले मङ्गलबार कार्नीलाई बधाई दिनबाट टाढा रह्यो, तर भन्यो, “चीन–क्यानाडा सम्बन्धबारे चीनको स्थिति सुसङ्गत र स्पष्ट छ ।”
बेइजिङ र ओटावाबीचको सम्बन्ध हालका वर्षहरूमा तनावपूर्ण रहेको छ ।
सन् २०१८ डिसेम्बरमा भ्यानकुभरमा अमेरिकी वारेन्टमा एक वरिष्ठ चिनियाँ दूरसञ्चार कार्यकारीको गिरफ्तारी र बेइजिङले जासुसीको आरोपमा दुई क्यानाडालीलाई प्रतिशोधात्मक हिरासतमा लिएकोले सम्बन्ध गहिरो रूपमा चिसिएको छ ।
सन् २०१९ र २०२१ मा क्यानाडाको चुनावमा चिनियाँ हस्तक्षेपको आरोप लागेपछि सम्बन्ध थप तनावपूर्ण भएको थियो । उक्त हस्तक्षेपको आरोपलाई बेइजिङले अस्वीकार गरेको छ ।
बेइजिङमा सत्तारूढ कम्युनिस्ट पार्टीको मुखर आलोचक रहेका क्यानाडाली विपक्षी सांसद र उहाँको परिवारलाई लक्षित गरेको आरोपमा विदेशमन्त्री मेलानी जोलीले सन् २०२३ मा एक चिनियाँ कूटनीतिज्ञलाई निष्कासन गरेका थिए ।
ओटावाले हङकङमा सुरक्षा कडाइ र चीनको उइगुर मुस्लिम अल्पसङ्ख्यकहरूको व्यवहारको पनि आलोचना गरेको छ ।
गत महिना जोलीले ओटावामा पत्रकारहरूलाई क्यानाडाको दयाको अपिललाई अवज्ञा गर्दै चीनले हालका हप्ताहरूमा चार क्यानाडाली नागरिकहरूलाई मृत्युदण्ड दिएको बताए ।
चीनले मृत्युदण्ड कार्यान्वयन गर्दा ‘कानूनअनुसार’ काम गरेको दाबी गरेको छ । (एएफपी)

४८ घण्टामा राहत नपुगे गाजामा १४ हजार बालबालिकाको ज्यान जान सक्छ : राष्ट्र संघ

बङ्गलादेशमा ‘स्टारलिङ्क’ इन्टरनेट सेवा सुरु
चीनद्वारा नयाँ सञ्चार उपग्रह सफलतापूर्वक प्रक्षेपण

'जेलन्स्कीद्वारा रुसमाथि शान्ति वार्ता लम्ब्याउने आरोप'

युरोपेली संघद्वारा रुसमाथि नयाँ प्रतिबन्ध, युद्धविरामका लागि दबाव

गाजामा इजरायली आक्रमणले ९२ प्रतिशत घर ध्वस्त वा क्षतिग्रस्त
भारतमा कोभिड संक्रमित दुई बिरामीको मृत्यु

प्रतिक्रिया