बिहीबार १८ बैशाख, २०८२
Thursday, May 01, 2025

यमनमा एक हजारभन्दा बढी लक्ष्यमा आक्रमण

फाइल तस्बिर

वासिङ्टन- हुथी विद्रोहीविरुद्धको हवाई कारबाहीमा वासिङ्टनले मार्चको मध्यदेखि अहिलेसम्म यमनमा एक हजारभन्दा बढी लक्ष्यमा आक्रमण गरेको जनाएको छ ।

हुथी विद्रोहीले सन् २०२३ को अन्त्यतिर रेड सी र एडेनको खाडीमा पानीजहाजलाई निशाना बनाउन सुरु गरेपछि संयुक्त राज्य अमेरिकाले सन् २०२४ को सुरुदेखि उनीहरूविरुद्ध आक्रमण गरेको थियो ।
 
पेन्टागनका प्रवक्ता सिन पार्नेलले मध्यपूर्वका लागि जिम्मेवार सैन्य कमाण्डलाई सङ्केत गर्दै मंगलबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, “मार्च १५ देखि यसको हवाई अभियानको पछिल्लो चरणमा अमेरिकी केन्दूय कमाण्ड (यूएस सेन्टकोम) ले एक हजारभन्दा बढी लक्ष्यहरूमा प्रहार गरेको छ । 

आक्रमणमा हुथी लडाकु र प्रभावशाली नेताहरूको मृत्यु भएको छ । यसले उनीहरुको क्षमतामा ह्रास ल्याएको छ ।”

बुधबार बेलायतले हुथी आक्रमणका लागि अमेरिकासँग सहकार्य गरेको बताएको थियो ।

“यमनको हुथी सैन्य लक्ष्यविरुद्ध बेलायती सेनाले अमेरिकी सेनासँग संयुक्त कारबाहीमा भाग लिएको छ,” बेलायती रक्षा मन्त्रालयले जारी गरेको विज्ञप्तिमा भनिएको छ।

वायु सेनाले राजधानी सानाबाट करिब २५ किलोमिटर दक्षिणमा रहेको भवनमा राति आक्रमण गरेको र हुथी विद्रोहीले ड्रोन बनाउन प्रयोग गरिरहेको बताइएको छ ।

बेलायती रक्षामन्त्री जोन हिलीले बुधबार बेलायती संसदमा भने, “हाम्रो प्रारम्भिक आँकलन के हो भने योजनाबद्ध लक्ष्यहरु सबै सफलतापूर्वक प्रहार भएका छन् र हामीले नागरिक हताहत भएको कुनै प्रमाण देखेका छैनौँ ।”
 
सन् २०२३ को नोभेम्बरदेखि रेड सीमा अन्तर्राष्ट्रिय पानीजहाजलाई लक्षित गरी हुथी विद्रोहीले ‘३२० भन्दा बढी आक्रमण’ गरेको उनले बताए । 
 
बेलायतले सन् २०२४ को सुरुदेखि नै संयुक्त राज्य अमेरिकाको नेतृत्वमा हुथी विद्रोहीविरुद्ध संयुक्त हवाई हमला गर्दै आएको छ ।
 
सेन्टकमले गत मार्चको मध्यदेखि हालसम्म अमेरिकी आक्रमणबाट ८०० भन्दा बढी लक्ष्यमा आक्रमण भएको र त्यसको परिणामस्वरुप सयौँ हुथी लडाकु मारिएको बताएको थियो ।

उक्त घोषणाको केही घण्टापछि हुथी नियन्त्रित सञ्चारमाध्यमले सादा शहरमा रहेको आप्रवासी हिरासत केन्द्रमा अमेरिकी आक्रमणमा परी कम्तीमा ६८ जनाको मृत्यु भएको बताएको थियो भने संयुक्त राष्ट्रसङ्घका प्रवक्ताले मारिएकाहरु आप्रवासी भएको जानकारी पाएको बताएका थिए । 

एक अमेरिकी रक्षा अधिकारीका अनुसार यमनमा भएको आक्रमणमा परी नागरिक हताहत भएका खबरबारे सेनाले अनुसन्धान गरिरहेको छ ।
 
इरान समर्थित हुथी विद्रोहीको आक्रमणका कारण स्वेज नहरबाट पानीजहाजहरू आवतजावत गर्नबाट रोकिएका छन् । स्वेज नहर सामान्यतया विश्वको १२ प्रतिशत ढुवानीका लागि यातायात ओहोरदोहोर हुने एक महत्वपूर्ण मार्ग हो ।

सन् २०२३ को अक्टोबरमा हमासको आक्रमणपछि इजरायली सेनाले तहसनहस बनाएको गाजामा प्यालेस्टिनीहरूप्रति ऐक्यवद्धता जनाउन विद्रोहीहरूले पानीजहाजलाई निशाना बनाएको बताएका छन् । (एएफपी)