मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

दाहाल र माधव नेपालसँग चन्दको भेटवार्ता

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी नेकपाका महासचिव नेत्रविक्रम चन्दले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल र एमाले वरिष्ठ नेता माधव कुमार नेपालसँग एकसाथ भेटवार्ता गरेका छन् । कोटेश्वरमा दाहाल, नेपाल र चन्दबीच भेटवार्ता भएको हो । चन्दका साथै धर्मेन्द्र बाँस्तोला पनि कोटेश्वर पुगेका थिए । चारै जना नेताले भेटवार्तापछि संयुक्त फोटो समेत खिचेर सार्वजनिक गरेका छन् ।

चन्दसँग भएको भेटबारे माधव नेपालले सुरुमा आफ्नो फेसबुकमार्फत सार्वजनिक गरेका थिए । यसअघि हिजो चन्दले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालसँग खुमलटार नै पुगेर भेटवार्ता गरेका थिए । जहाँ उनले बिरामी परेकी दाहाल पत्नी सीतासँग ‘भाउजु’ भन्दै कुराकानी गरेका थिए । 

एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री हुँदा शान्तिपूर्ण राजनीतिमा आएका चन्द पछिल्लो समय ओली सत्ताबाट बाहिरिएपछि सत्ता गठबन्धनका नेतासँग भेटवार्ता गरिरहेका छन् । यसले उनी शान्तिपूर्ण राजनीतिमै सक्रिय हुन खोजिरहेको संकेत गरेको छ ।

शान्तिपूर्ण राजनीतिमा आउँदा ओलीसँग तीन बुँदे सहमति भएपनि उनले कार्यान्वयन गरेका थिएनन् । ओलीको सोही व्यवहारबाट असन्तुष्ट बनेका चन्द उनी सत्ताबाट बाहिरिएपछि दाहाल र नेपालसँग छलफल बढाइरहेका छन् ।