बिहीबार १८ बैशाख, २०८२
Thursday, May 01, 2025

गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम गर्न सकेनः उपसभापति गुरुङ

नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले गैरआवासीय नेपालीलाई दिएको नेपाली नागरिकताले काम नगरेको टिप्पणी गरेका छन्। नेपाली कांग्रेस जनसम्पर्क समितिले बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित  कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन्।

उनले गैरआवासीय नेपालीले लिएको गैरआवासीय नेपाली नागरिकताले नेपालमा उद्योग व्यवसाय गर्न मार्ग प्रशस्त नगरेको बताए। गैरआवासीय नेपाली नागरिकता लिएर नेपालमा उद्योग खोल्न वा जग्गा किन्न सहज नभएको बताए।

सम्बन्धित निकायमा कामका लागि जाँदा विभिन्न प्रक्रिया देखाएर कर्मचारीहरुले समस्या खडा गर्ने काम गरेको उनको भनाइ छ। उनले गैरआवासीय नेपालीलाई नेपालमा लगानीमैत्री कानून निर्माणका लागि तत्काल छलफल अगाडि बढाउन पार्टीले भुमिका खेल्नुपर्ने बताए। 

उपसभापति गुरुङले विदेशमा रहेका नेपालीलाई सहज हुने कानून निर्माण गर्न आवश्यक रहेको बताए।