शनिबार २० बैशाख, २०८२
Saturday, May 03, 2025

नीति तथा कार्यक्रमलाई कसरी व्यवहारमा उतार्ने? : सांसद राणा

नेपाली काँग्रेसका सांसद डा. उदय समशेर राणाले नीति तथा कार्यक्रमलाई व्यवहारमा उतार्नु मुख्य विषय भएको बताएका छन् ।

शुक्रवार सङ्घीय संसद्को संयुक्त बैठकमा राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको आगामी आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम सार्वजनिक गरेपछि संसद् परिसरमा सञ्चारकर्मीहरूसँग बोल्दै उनले यस्तो बताएका हुन् । उनले नीति तथा कार्यक्रमलाई कसरी व्यवहारमा उतार्ने, कसरी बजेटमा समावेश गर्ने र कसरी व्यवस्थापन गर्ने भन्ने विषय मुख्य भएको बताए ।

उनले सरकारले पुराना नीति तथा कार्यक्रमहरूलाई पनि समावेश गरेको भन्दै खुशी व्यक्त गरे । उनले प्रत्येक पटक सरकार परिवर्तन हुँदा नयाँ नीति तथा कार्यक्रमहरू आउने र पुराना कार्यक्रमहरूले निरन्तरता पाउन नसक्ने अवस्था पुग्ने गरेको बताउँदै पुराना कार्यक्रमहरूलाई निरन्तरता दिनु सराहनीय भएको जिकिर गरे । 

उनले भने, “राष्ट्रपतिज्युले नीति तथा कार्यक्रम पढ्नुभयो, त्यसमा मुख्य कुरा चाहीँ हामीले यसलाई व्यवहारमा कसरी उतार्न सकिन्छ, त्यो नीति तथा कार्यक्रमलाई बजेटमा कसरी समावेश गर्न सकिन्छ, यसलाई कसरी व्यवस्थापन गर्ने । यसमा दुई चरण हुन्छ, एउटा बजेटमा कसरी हाल्ने, अर्को यसलाई कार्यान्वयन कसरी गराउन सकिन्छ भन्ने हो । यो गठबन्धनले बनाएको हो, पहिलेका नीति तथा कार्यक्रमहरूलाई पनि निरन्तरता दिएको छ । त्यो पनि जरुरी छ, प्रत्येक पटक सरकार परिवर्तन हुँदा नयाँ नीति तथा कार्यक्रमहरू आए भने पुराना कार्यक्रमहरूले निरन्तरता पाउन सक्दैनन् ।”  

उनले सरकारले केन्द्र, प्रदेश र स्थानीय तहको योजनामा दोहोरोपन हटाउन एकीकृत परियोजना बैङ्क लागू गर्ने घोषणा गरेको भन्दै यो प्रभावकारी बन्ने विश्वास समेत व्यक्त गरे । – न्युज एजेन्सी नेपाल