आइतबार २१ बैशाख, २०८२
Sunday, May 04, 2025

फुड रियालिटी सो सेफ नेपालः द प्रोफेशनलको आवेदन खुल्ला

काठमाडौँ- नेपालको पहिलो प्रतिस्पर्धात्मक फुड रियालिटी शो “सेफ नेपाल”को अर्को संस्करण “सेफ नेपालः द प्रोफेशनल” को आवेदन सुचारु गरिएको छ । सेफ नेपालको वेबसाइटमार्फत विश्वभरि रहेका ब्यवसायिक सेफहरुले यस प्रोफेशनल संस्करणको प्रतिस्पर्धात्मक पाक–प्रतियोगितामा आवेदन दिन सक्ने छन् । पाँच वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक सेफहरू मात्र यस फुड रियालिटी टिभि शोमा सहभागी हुन पाउनेछन् । 

यस फुड रियालिटि टिभि शोको निर्माता कम्पनी धर्म पिक्चर्सले घोषणा गरेको यो नयाँ संस्करण नेपालकै व्यावसायिक कुकिंग प्रतिस्पर्धामा ऐतिहासिक अध्याय हुने अपेक्षा गरिएको छ । यस पटकको शो CDP (Chef De Party) भन्दा माथिको तहमा कार्यरत, पाँच वर्षभन्दा बढी होटल तथा रेस्टुरेन्ट अनुभव भएका, देश वा विदेशमा बस्ने सेफहरू बिचको प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा सहभागी हुन चाहने सेफहरूले सेफ नेपालको वेबसाईट (www.chefnepal.com/applications) मा गएर आवेदन दिन सक्नेछन् । आवेदन दिनका लागि आफ्नो विस्तृत बायोडाटा, आफ्नो प्रमाणपत्रको स्क्यान कपी, लगाएत अपलोड गर्नुपर्नेछ । आवेदन, जेठ १७ गते पछी आवेदन बन्द हुनेछ । 

आवेदन पछि प्रारम्भिक छानबिन गरिनेछ र एक सयजना सेफहरू लाई प्रत्यक्ष अडिसनका लागि छनोट गरिनेछ । प्रतिस्पर्धामा छनोट भएका आवेदकहरुको प्राविधिक दक्षता, सृजनशीलता र मौलिकताको मुल्याङ्गक गर्दै शो आघि बढ्ने छ । 

सन् २०२४ मा प्रसारण भएको पहिलो सिजनमा इच्छुक गृहिणी, युवा र अमेच्युर सेफहरू बिच प्रतिस्पर्धा भएको थियो । स्थानीय परिकार, लोपोन्मुख तथा परम्परागत स्वाद र दिगो खाना संस्कृतिमा कार्यक्रमले ध्यान केन्द्रित गरेको थियो । अजुईहाङ राईले सय प्रतिस्पर्धीहरुलाई पछि पार्दै नेपालको पहिलो फुड रियालिटी शोको पहिलो विजेताको उपाधि जितेका थिए । शो कान्तिपुर टिभिबाट प्रशारण भएको थियो भने सेफ नेपालको युट्युब च्यानलमा पनि लाखौँ भ्यु प्राप्त गरेको थियो ।

“सेफ नेपालः द प्रोफेशनल” मा उन्नत कुकिङ प्रविधि, सिर्जनात्मक परिकार, समय व्यवस्थापन, र उच्च स्तरको प्रतिस्पर्धा देख्न पाइनेछ । यो संस्करण केवल प्रतिस्पर्धा नभई नेपालको पाक–कलाको उच्चतम स्तरको उत्सव भएको निर्माताहरुको भनाइ छ । 

कार्यक्रमको निर्माण तथा प्रसारण मिति भने पछि घोषणा गरिने निर्माता कम्पनी धर्म पिक्चर्सले जनाएको छ । लगभग दशैंको वरपर पारेर शो प्रशारणमा आउने आँकलन गर्न सकिन्छ ।
Atin