शुक्रबार २२ चैत, २०८१
Friday, April 04, 2025

हुलाक सेवाको व्यावसायिक मोडल

नेपालमा हुलाक सेवाको ऐतिहासिक पृष्ठभूमि हेर्दा वि.सं. १९३५ मा तत्कालीन प्रधानमन्त्री रणोद्दीप सिंहको समयदेखि यो सेवा प्रारम्भ भएको हो । गाउँघरमा हामीहरू हुर्कंदै गर्दा पनि हुलाकको सेवा गाउँघरमा पुगेको अनुभूत हुन्छ । गाउँगाउँमा चिठीपत्र बोकेर हुलाकीहरू पुग्थे । हुलाक सेवामा काम गर्नेहरूको भिन्‍नै पोसाक हुन्थ्यो । सरकारको प्रतिनिधिका रूपमा गाउँगाउँमा हुलाकको सेवा पुगेको थियो । हुलाक सेवामा समयानुकूल परिवर्तन हुँदै चलिरहेको थियो ।
 
सन् १९८० पछि खुला अर्थतन्त्रको लहर विश्‍वभर तीव्र रूपमा फैलियो र नेपालमा पनि २०४६ सालको जनआन्दोलनपछिको निर्वाचित सरकारले खुला र उदार अर्थतन्त्रलाई अघि बढायो । अर्थतन्त्रको विकासका लागि निजी क्षेत्रको भूमिका बढाउने, सरकारको भूमिका कम गर्दै लैजाने क्रम सुरु भयो । विगतमा पनि प्रविधिको विकास र सेवा प्रवाहको आधुनिकताको प्रभाव हुलाक सेवामा पर्दै आएको हो र त्यस अनुरूप सेवा प्रवाहलाई नयाँनयाँ ढाँचामा ढालिएको पनि थियो । 

विश्‍वभरि नै हुलाक सेवाको एउटा दायित्व छ । हुलाक अत्यावश्यक सेवा भएकाले यसलाई बन्द गर्न मिल्दैन । कुनै न कुनै चिठीपत्र, पार्सलहरू प्रापकसम्म पुर्‍याउनुपर्ने भएकाले हुलाक सेवा नियमित सञ्‍चालन गर्नुपर्छ । हामीले भर्खरै सम्पन्‍न अमेरिकी निर्वाचनमा पनि सबैभन्दा ठूलो भूमिका हुलाक सेवाले निर्वाह गरेको देख्यौं । हाम्रै छिमेकी भारतमा पनि विपद्को समयमा इन्डिया पोस्ट (भारतीय डाक सेवा) मार्फत् औषधि वितरण, सेनिटाइजर/मास्क र राहत वितरणमा हुलाक सेवाको प्रयोग भयो । हुलाकको गाउँगाउँसम्म सञ्‍जाल भएका कारण यस्तो सेवा प्रवाह प्रभावकारी पनि भयो । 

नेपालमा पनि हुलाक सेवाको गाउँगाउँमा सञ्‍जाल छ । हुलाकका कार्यालयहरू छन् । गाउँगाउँमा हुलाक सेवाका कर्मचारीहरू थिए, उनीहरूले घरघरमा चिठीपत्र पुर्‍याउँथे । नेपालमा पनि हुलाक सेवालाई आधुनिकीकरण गर्दै जाने, समयानुकूल परिवर्तन गर्ने सम्बन्धमा पटकपटक अध्ययनहरू भएका छन् । पञ्‍चवर्षीय योजनाहरूमा हुलाक सेवालाई प्राधिकरणको रूपमा विकास गर्ने उल्लेख छ । त्यतिबेला सरकारका घोषणाहरूमा हुलाकलाई व्यावसायिक मोडलमा सञ्‍चालन गर्न हुलाक प्राधिकरणको अवधारणामा सञ्‍चालन गर्ने भनिएको छ । 

अहिले पनि संसारका विकसित देशहरू जापान, स्विट्जरल्यान्ड, अस्ट्रेलिया, अमेरिकालगायत देशको हुलाक सेवा निकै उन्‍नत छ । म अस्ट्रेलियामा पढ्दा त्यहाँको हुलाक सेवालाई नियाल्ने मौका पाएको थिएँ । अस्ट्रेलिया पोस्टले बैंकका कामदेखि, बिमा अभिकर्ता, स्टेसनरी बिक्रीसम्मका काम गर्छ । यसले गर्दा हुलाक सेवा दिगो रूपमा नाफामूलक ढंगले चलिरहेका छन् । कतिपय देशले सरकारी कम्पनीको रूपमा, कुनैले प्राधिकरण र कतिपयले अर्धस्वायत्त संस्थानको रूपमा हुलाक सेवा सञ्‍चालन गरिरहेका छन् । वास्तवमा हुलाक सेवा छाड्न (बन्द गर्न) सकिने सेवा पनि होइन, यसको सञ्‍जाललाई समेत सदुपयोग गर्दै व्यावसायिक रूपमा नाफामूलक ढंगले सञ्‍चालन गर्न सकिन्छ । 

मैंले हुलाक सेवामा नै काम नगरे पनि दुईपटक सञ्‍चार तथा सूचना प्रविधि सचिव भएर काम गर्ने क्रममा हुलाक सेवाको आधुनिकीकरण र व्यावसायिक मोडल विकास गरी सञ्चालन गर्ने सम्बन्धमा धेरै गृहकार्य गरेको छु । विद्यमान हुलाक सेवा ऐनले आधुनिकीकरणको बाटो बन्द गरेको छ । हुलाकलाई व्यवसाय पनि बढ्ने आम नागरिकलाई सहज पनि हुने भएकाले त्यसबेला हामीले विद्युत् महसुल हुलाकमार्फत संकलन गर्न सकिन्छ कि भनेर प्रयास पनि गरेका थियौं । कतिपय गाउँबाट विद्युत् महसुल तिर्नका लागि दुई दिन लगाएर सदरमुकामसम्म पुग्‍नुपर्ने बाध्यता पनि छ । समयमा महसुल तिरेन भने जरिवाना लाग्छ । त्यसकारण हुलाकीहरूलाई प्रयोग गरेर गाउँभरिको विद्युत् महसुल संकलन गरेर तिर्ने र त्यसबापत हुलाक सेवा विभागले थोरै कमिसन लिनसक्ने गरी अवधारणा बनाएका थियौं । तर सरकारी विभाग भएको हुनाले हुलाक सेवा विभागले कमिसन लिन नमिल्ने भएपछि त्यसलाई पनि स्थगित गर्‍यौं । 

विद्यमान हुलाक सेवा ऐनले आधुनिकीकरणको बाटो बन्द गरेको छ ।

यसभन्दा अघि पनि धेरै विप्रेषण (रेमिट्यान्स) कम्पनीहरूले हामी हुलाकको सेवा प्रयोग गरेर गाउँगाउँमा रेमिट्यान्स पुर्‍याउँछौं भनेर सम्झौताका लागि पहल पनि गरेका थिए । हुलाकले व्यवसाय विस्तार गर्ने धेरै सम्भावना हुँदाहुँदै पनि विद्यमान ऐन बाधक भएकाले कानुनी सुधार गर्नैपर्छ । एकातर्फ कानुन र अर्कोतर्फ हुलाकका निजामती कर्मचारी व्यावसायिक मोडलमा हुलाकको सञ्‍चालनमा बाधक छन् । विगतमा हुलाक सेवाबाटै प्रवेश गरेर अहिले निजामती सेवामा उच्च ओहोदामा पुगेका साथीहरू पनि हुनुहुन्छ, अहिलेसम्म हुलाकलाई बचाइराखेको वास्तवमा उहाँहरूले नै हो । अहिले हुलाक सेवामा कसैको सरुवा भयो भने गएको दिनदेखि उसको ध्यान कसरी सरुवा अन्यत्र मिलाउने भन्नेमै हुन्छ । हुलाक सेवाप्रति यो तहको अनाकर्षण निजामती कर्मचारीमा छ । 

एकाथरी हुलाक सेवामा खटिनै नचाहने, त्यहाँ भएका कर्मचारी आधुनिकीकरण गर्नै नचाहने हुँदा हुलाक सेवा यस्तो भुँमरीमा परेको छ । प्रोत्साहन र उत्प्रेरणा कम भएको साथै परम्परागत शैलीका काम मात्र गर्ने चलनका कारण प्रत्येक वर्ष सरकारको व्ययभार बढिरहेको छ । सरकारले कुशलतापूर्वक कुनै पनि सेवालाई सञ्‍चालन गर्न नसक्नु भनेको जनताले तिरेको कर मात्र खर्च भइरहने तर उनीहरूले प्रतिफल नपाएको अवस्था हो । अहिले पनि हुलाक सेवामा १५ हजारभन्दा बढी कर्मचारी कार्यरत छन् । तर न आधुनिक सेवा दिन सकिएको छ, न सेवामा विविधीकरण र व्यावसायिक मोडलमा चलाउन सकिएको छ । त्यहाँका कर्मचारीले निजामती कर्मचारी सरह सेवासुविधा माग गरिरहेका छन् । केवल सरकारमाथि व्ययभार मात्र थोपरिएको छ । सेवाप्रवाह राम्रो छैन । कुनै ठाउँमा चिठी पुग्न अहिले पनि महिनौं लाग्छ । कर्मचारीको बदमासी त्यस्तै छ । हुलाक बचत बैंकको रकम दुरुपयोग भएर मेरै समयमा त्यहाँका केही कर्मचारीलाई अख्तियारसमेत पठाउनुपर्ने अवस्था आयो । त्यसकारण हुलाक सेवामा ठूलो रूपान्तरणसहितको सुधार चाहिएको छ ।
 
यसबीचमा हुलाक सेवामा आधुनिकीकरणका लागि केही पनि नभएको होइन । हुलाक बचत बैंक, कुरिअर सेवा, उपत्यकालगायतका ठाउँमा, घुम्ती सेवा, पार्सल पठाएपछि त्यसको अनलाइन ट्र्याकिङ गर्न सकिने व्यवस्था पनि भएका छन् । तर न्यून अनुपातमा भएको छ । जुन खालको रूपान्तरण हुनुपर्थ्यो भएको छैन । 

दोस्रो पटक म सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयको सचिव भएपछि राजनीतिक नेतृत्व (मन्त्री) लाई पनि त्यसबारे जानकारी गरायौं । त्यतिबेला आनन्द रेग्मी हुलाक सेवा विभागको महानिर्देशक हुनुहुन्थ्यो । त्यतिबेला विश्‍व हुलाक संघको इथियोपियामा ठूलो सम्मेलन हुन लागेको थियो । हुलाक सेवाको आधुनिकीकरण, संसारभरिको हुलाक सेवाको अनुभवबारे छलफल गर्न पाइने भएकाले मन्त्रालयबाट सचिव जानुभन्दा मन्त्रीलाई नै मैंले अनुरोध गरें । सम्मेलनमा भाग लिन विश्‍वभरका सम्बन्धित मन्त्रीहरू पनि आउँछन् भनेपछि मन्त्री पनि तयार हुनुभयो । उक्त सम्मेलनमा भाग लिएर आएपछि सञ्‍चारमन्त्रीको हुलाकलाई हेर्ने दृष्टिकोण र सोमा ठूलो परिवर्तन आयो । उहाँले नै हुलाक सेवालाई नयाँ ढंगले अघि बढाउनुपर्छ भनेर नेतृत्व लिनुभयो । त्यसपछि उहाँको नेतृत्वमा हामीले हुलाक सेवासम्बन्धी विधेयकको मस्यौदा गर्‍यौं । 

उक्त मस्यौदामा हुलाकलाई प्राधिकरणको रूपमा विकास गरी केही स्वायत्तता दिने प्रावधान समावेश छ । त्यसले हुलाक सरकारी नियन्त्रणभन्दा बाहिर हुन्छ । आफैंले व्यवसाय विस्तार गर्ने र नाफा आर्जन गर्ने बाटो खुल्छ । हुलाकले ई-कमर्स, बचत बैंक, जनउपयोगी सेवाहरू (पानी, विद्युत्, दूरसञ्‍चार) आदिको महशुल भुक्तानी, कुरिअर, रेमिट् सेवा लगायत जे सुकै काम गरेर आफ्नो शुल्क लिन सक्छ । नाफा आर्जन गरेपछि उसले कर्मचारीको क्षमता विकास, संस्थागत विकासमा त्यसलाई प्रयोग गर्दै सेवा प्रवाहमा कार्यकुशलता अभिवृध्दि गर्नेछ । हुलाकमा नयाँ कर्मचारी भर्ना गर्दा निजामती सेवाअन्तर्गतका कर्मचारी भर्ना नगर्ने पनि उक्त विधेयकको मस्यौदामा उल्लेख छ । 

हुलाक सेवालाई आधुनिक, व्यावसायिक, आकर्षण बनाउन समर्पित कर्मचारीहरू चाहिन्छ । हुलाक सेवामा काम गर्नेलाई प्रोत्साहन र भविष्य देख्‍न सक्ने गरी आकर्षण गर्न, आन्तरिक नियन्त्रण प्रणाली बलियो बनाउन हुलाक सेवा विधेयकलाई तीव्रता दिनुपर्छ । संसारभरि ई-कमर्सका लागि हुलाकहरूले गोदाम सेवा दिनेदेखि अनलाइन व्यापारका कामहरूसमेत गरिरहेका छन् । आधुनिक प्रविधिको विकाससँगै नयाँनयाँ व्यावसायिक अवसरहरू विस्तार भइरहेका छन् र संसारभरि हुलाक सेवा व्यावसायिक ढंगले सञ्चालन भइरहेको छ भने त्यो हामीकहाँ गर्न नसकिने भन्‍ने हुँदैन । 

एकातर्फ कानुन र अर्कोतर्फ हुलाकका निजामती कर्मचारी व्यावसायिक मोडलमा हुलाकको सञ्‍चालनमा बाधक छन् ।

जनउपयोगी सेवाहरूको महसुल संकलनका अतिरिक्त हुलाकबाट राहदानी संकलन र वितरण, सवारी चालक अनुमतिपत्र र सवारीसाधनको ब्लुबुक संकलन नवीकरण र वितरणलगायत दर्जनौं व्यवसायहरू गर्न सकिन्छ । हुलाकलाई व्यवसायका लागि अवसर नै अवसर नै अवसर छन् । केही समयअघि म ठूलो भर्‍याङस्थित यातायात कार्यालयमा सवारीचालक अनुमतिपत्र नवीकरणका लागि गएको थिएँ । त्यहाँ साथीहरूले कोभिडका कारण नवीकरण भएका सवारीचालक अनुमतिपत्र घरघरमै पुर्‍याइदिन हुलाकसँग परामर्श भएको तर हुलाकले नगरेपछि अन्य निजी क्षेत्रबाट यस्तो सेवा दिने कम्पनीमार्फत काम गर्नका लागि कार्यविधि बनाएका छौं भन्‍नुभयो । घरघरमै डेलिभरी दिन सकिन्छ भन्‍ने तथ्य त अहिले ई-कमर्स प्लेटफर्महरूले स्थापित गरिसकेका छन् । 

जीपीएस ट्र्याकिङ, मोबाइल फोनले वास्तवमा यस्ता व्यवसायका लागि ठूलो अवसर सिर्जना गरेको छ भने हुलाकले पनि त्यसअनुसार आफूलाई रूपान्तरण गर्नुपर्छ । हुलाकमा हरेक वर्ष सरकारले ठूलो लगानी गरिरहेको छ, योसँग पूर्वाधार, संरचनाहरू छन् । सबैभन्दा राम्रो त हुलाकसँग रहेको सम्पत्तिको मूल्यांकन गरेर यसलाई कम्पनी मोडलमा रूपान्तरण गर्नु राम्रो हुन्छ । यदि त्यो हुन सक्दैन भने पनि अर्धस्वायत्त अर्थात् प्राधिकरण मोडलमा सञ्‍चालन गर्ने हो भने सरकारले हुलाकका लागि खर्च गर्नु नपर्नेमात्र होइन, नाफा नै कमाउन सक्छ । केही समयअघि मैंले ‘न्युजिल्यान्डमा म्याकडोनल्डको खाना आपूर्तिका लागि हुलाकीहरूलाई प्रयोग गरेको’ भन्‍ने समाचार पढेको थिएँ । यस्ता अभ्यासहरूबाट सिक्दै, व्यावसायिक अवसरहरू खोज्दै अघि बढ्ने हो भने त हुलाकका लागि व्यवसायका अवसर नै अवसर देखिन्छन् । अहिले पनि विदेशमा पार्सल पठाउँदा ठूलो शुल्क लाग्ने गरेको सुन्‍न पाइन्छ । हाम्रो हुलाकको संसारभर सञ्‍जाल छ, हामी युनिभर्सल पोस्टल युनियनका सदस्य पनि हौं । यो सञ्‍जालमा बसेर हामीले सुलभ दरमा हाम्रा सेवाग्राहीलाई सेवा दिन सक्छौं । हुलाक सेवाको आधुनिकीकरणका लागि युनिभर्सल पोस्टल युनियनको सञ्‍जाल भित्र रहेर सहयोग गर्न धेरै दातृ निकाय पनि इच्छुक छन् । 

नयाँ सरकार गठन भएपछि पनि हामीले पाँच वर्षभित्र हुलाकलाई कसरी आधुनिकीकरण गर्ने भनेर कार्ययोजना नै पेस गरेको थियौं । हुलाक सेवाको आधुनिकीकरणका लागि हामी अवश्य पनि केही समय पछाडि परिसकेका छौं । तर अझै पनि केही बिग्रिसकेको छैन र अब सकेसम्म छिटो हुलाक सेवाको आधुनिकीकरण र व्यावसायिक मोडलमा सञ्‍चालनका लागि कानुन अनुमोदन गर्नुपर्छ । किनकि कानुनको अभावमा यसको आधुनिकीकरण र व्यावसायिक हिसाबले चलाउने प्रक्रिया अड्केको छ । कानुनमार्फत नै हुलाक सेवालाई स्वायत्त रूपमा विकास नगरी हुन्‍न । स्वायत्त निकायको रूपमा विकास गरेपछि यसले आफ्नै हिसाबले व्यवसाय विस्तार गर्न पाउँछ । छिट्टै नयाँ ऐन जारी गरी हुलाक सेवा प्राधिकरण गठनपछि प्रतिस्पर्धाबाट राम्रो सीईओ र कर्मचारीहरू छानेर व्यावसायिक मोडलमा सञ्चालन गर्ने हो भने हुलाक सेवामा केही वर्षभित्रै ठूलो कायापलट हुनेछ । 

(सञ्‍चार तथा सूचना प्रविधि मन्त्रालयका पूर्वसचिव गुरुङ राष्ट्रिय सूचना आयोगका प्रमुख आयुक्त हुन्)