बिहीबार २५ बैशाख, २०८२
Thursday, May 08, 2025

जगद्गुरु शंकराचार्य श्री विदुशेखर भारती महास्वामीजीको नेपाल आउँदै

काठमाडौं- दक्षिणाम्नाया श्री शारदा पिठम, श्रृंगेरीका ३७ औं जगद्गुरु शंकराचार्य श्री श्री विदुशेखर भारती महास्वामीजीको जेठ ८ देखि १० गतेसम्मका लागि नेपाल आउने मिति तय भएको छ । उहाँले यस अवसरमा पवित्र तीर्थस्थलहरूको दर्शन र धार्मिक अनुष्ठान सम्पन्न गर्ने बताइएको छ  ।

महास्वामीजीले काठमाडौंस्थित पशुपतिनाथ मन्दिरमा दर्शन, पूजा–आराधना गर्नु हुनेछ भने मुक्तिनाथको यात्रा गर्ने कार्यक्रम छ । यसैगरी, रुपन्देही जिल्लामा रहेको सिद्धबाबा र कामाख्या देवीको मन्दिरमा पनि दर्शन गरी आशीर्वाद दिने कार्यतालिका छ ।

यो भ्रमण नेपालका धार्मिक समुदायका लागि ऐतिहासिक महत्व बोकेको छ । शंकराचार्यको आगमनले देशभरका भक्तजनहरूलाई आध्यात्मिक अनुभूति प्रदान गर्ने अपेक्षा गरिएको छ ।
श्रृंगेरी शारदा पिठम भारतको प्राचीन एवं प्रतिष्ठित धार्मिक संस्था हो र यसका शंकराचार्यहरूको आध्यात्मिक नेतृत्व विश्वभरका सनातन धर्मावलम्बीहरूबाट आत्मसात गरिन्छ ।
श्रृंगेरी शारदा पिठम भारतको कर्नाटक राज्यमा अवस्थित एक प्राचीन एवं प्रतिष्ठित हिन्दू मठ हो । 

आदि शंकराचार्यले ८औं शताब्दीमा अद्वैत वेदान्तको शिक्षा प्रचार गर्न, सनातन धर्म संरक्षण गर्न र विभिन्न वैदिक परम्परा कायम राख्न चारवटा धार्मिक पिठ उत्तरधाम अन्तर्गत् उत्तराखण्डमा ज्योतिर्मठ, दक्षिण धाम अन्तर्गत् कर्नाटकमा श्रृङ्गेरी शारदा पीठ, पूर्व धाम अन्तर्गत् पुरी ओडिशामा गोवर्धन मठ र पश्चिम धाम अन्तर्गत् द्वारका गुजरातमा द्वारका शारदा पीठ स्थापना गर्नु भएको थियो । 

सनातन धर्म, वेदान्त दर्शन, र आध्यात्मिक शिक्षाको प्रचार–प्रसार गर्नु उपर्युक्त मठहरुको प्रमुख उद्वेश्य हो । तुङ्गा नदीको किनारमा रहेको श्रृङ्गेरी शारदा मठमा स्थापित देवी शारदा (सरस्वती) को विशाल मन्दिर लाई ज्ञानकी देवी मानिन्छ ।

 यस मठका शंकराचार्यहरूलाई हिन्दू धर्ममा सर्वोच्च आध्यात्मिक गुरु मानिन्छ । श्रृंगेरी मठले वेद, उपनिषद्, योग, र संस्कृत विद्याको अध्ययनलाई प्राथमिकताका साथ अगाडि बढाएको छ ।
३७औं जगद्गुरु श्री विदुशेखर भारती महास्वामीजीको नेपाल भ्रमणले नेपाल भारतको धार्मिक सम्बन्धलाई अझ बलियो बनाउने अपेक्षा छ ।
यस अघि  ३४औं जगद्गुरु श्री श्री भारती कृष्ण तीर्थ महास्वामीजी (१९५०–१९६० को दशक) मा पशुपतिनाथ, मुक्तिनाथ, लुम्बिनी लगायत प्रमुख तीर्थस्थलहरूमा दर्शन गर्नुभएको थियो ।

त्यस्तै ३५ औं जगद्गुरु श्री श्री अभिनव विद्यातीर्थ महास्वामीजी (१९७०–१९८० को दशक) मा काठमाडौं र पोखराका विभिन्न मन्दिरहरूमा पूजा–अर्चना गर्नुभएको थियो भने ३६ औं जगद्गुरु श्री श्री भारती तीर्थ महास्वामीजी (२०००–२०१५ को अवधि) ले २०१२ मा नेपाल भ्रमण गरी पशुपतिनाथको विशेष पूजा सम्पन्न गराउनुभएको थियो । ३७ औं जगद्गुरु श्री विदुशेखर भारतीजीको यो भ्रमणले पनि यसै परम्परालाई अगाडि बढाउने अपेक्षा छ । श्रृंगेरी मठले नेपालका शैव, शाक्त, र वैष्णव परम्परासँग गहिरो सम्बन्ध राख्दछ ।