सोमबार २३ असार, २०८२
Monday, July 07, 2025

कर तिर्नु छ ? अब घरमै बसेर तिर्नुहोस्

काठमाडौँ : काठमाडौँ महानगरका करदाताले अब घरबाटै कर तिर्न मिल्ने भएको छ । कनेक्ट आइपीएस, इसेवा, खल्ती पे र फोनजस्ता डिजिटल भुक्तानी प्रणाली प्रयोग गरेर मोवाइलबाटै सबै प्रकारका कर र सेवा शुल्क घरबाटै भुक्तानी गर्न सकिने काठमाडौं महानगरपालिकाले जनाएको हो । 

यो प्रणाली सुरु गर्न एक पटक वडामा जानु पर्छ र सफ्टवेयरमा विवरण भरेर दर्ता गर्नुपर्छ । त्यसपछि घरमै बसेर सेवा लिन सकिनेछ । सम्पत्ति कर, बहाल कर र व्यवसाय कर महानगरका मुख्य कर लगायत सेवा शुल्क र दस्तुर पनि अनलाइनबाटै भुक्तानी गर्न  मिल्छ । आफूले तिरेको शुल्कको रसिद पनि अनलाइनबाटै प्राप्त गर्न सकिने महानगरले जनाएको छ ।  

राजस्व विभागका प्रमुख डा. शिवराज अधिकारीका अनुसार करदाता आफैले पनि अनलाइनमा गएर विवरण दर्ता गर्न सक्छन् । तर यसरी भरेका विवरणहरुमा फोन नं., इमेल लगायतका विवरण छुट्ने गरेका कारण पहिलो पटकको विवरण भर्नका लागि वडामा नै जानुपर्ने उनले सुनाए । 

प्रविधिमा आधारित यो सेवा ०७७ असोज १ गतेदेखि नमूनाका रुपमा वडा १, २, ३, ४, १०, ११, १५, २६, ३० र ३१ गरी १० वटा वडाबाट नमूनाका रुपमा सञ्चालनमा ल्याएको थियो । सफ्टवेयरको प्रयोगबाट उत्साहित हुँदै असोज ५ गतेदेखि वडा ५, ६, ७, ९, १२, १४, १६, २८, २९ र ३२ वडा गरी थप १० वटा वडामा सेवा जोडियो । यस अवधिमा प्रणालीमा जोडिएका करदाताले १ करोड ६० लाख रुपैयाँ राजस्व तिरिसकेका थिए । 

चरणवद्ध रुपमा सञ्चालन थालिएको राजस्व निर्धारण तथा संकलन प्रणाली असोज १३ गतेदेखि सबै वडाबाट सञ्चालन गरिएको थियो । सहभागितामुलक र पारदर्शी राजस्व प्रणाली विकास गर्दै जान सुरु गरिएको प्रणालीले स्मार्ट नगरको एउटा सूचक पूरा गरेको छ । राजस्व विभागका प्रमुख डा. अधिकारी भन्नुहुन्छ, ‘महानगर करदाताप्रति उत्तरदायी छ भन्ने कुरा अनुभुति गराउने प्रयास गरेका छौँ ।

यसको प्रयोगबाट सुशासनमा टेवा पुग्नेछ । करदाताको डाटाबेस तयार हुनेछ । त्यस्तै आउँदा बर्षहरुका लागि राजस्व अनुमानलाई वास्तविक बनाउँछ ।’ करदाताको विवरण सफ्टवेयरमा दर्ता गरिसकेपछि आन्तरिक संकेत र करदाता कोड प्राप्त हुन्छ । यही कोडका आधारमा पछिल्लो पटक मोवाइलबाटै कर तथा दस्तुर तिर्न मिल्छ ।