शनिबार २४ जेठ, २०८२
Saturday, June 07, 2025

स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न सक्दैनः स्वास्थ्यमन्त्री पौडेल

काठमाडौँ- स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न नसक्ने बताएका छन् । 

आइतबार भक्तपुर क्यान्सर अस्पतालमा पेडियाट्रिक अन्कोलोजि वार्ड तथा पिआइसियु कक्षको शुभारम्भ गर्दै उनले यस्तो बताएका हुन् ।

उनले प्रशासनलाई साँघुरो बनाएर भएपनि प्रशासनका कोठाहरू उपचारका निम्ति प्रयोग गर्नुपर्नेमा जोड दिए ।

उनले भक्तपुर क्यान्सर अस्पतालको भौतिक संरचना निर्माणका लागि जग्गा नपाइरहेको भन्दै जग्गा भेटेको खण्डमा यही वर्ष बहुवर्षे आयोजना अन्तर्गत पूर्वाधार निर्माणको कार्यक्रम राख्न सकिने बताए ।

उनले सरकारले १४ वर्ष मुनिका क्यान्सरका बिरामी बालबालिकाको उपचार निःशुल्क गरिरहेको र करिव ८० प्रतिशत औषधि समेत निःशुल्क भएको स्थिति रहेको बताए । हेमोफेलियाको औषधि ल्याएर अस्पतालमा उपलब्ध गराएर निःशुल्क वितरण भएको जानकारी दिए । 

‘हामीले मात्रै चाहेर हुँदैन । लोकल नगरपालिकाहरूले पालिकाबाट पास गरेर दिनुपर्छ । सिडिओले कार्यालयबाट भूमिसुधार छिटो पठाइदिनुपर्छ । भूमिसुधारलाई म ताकेता गरेर क्याबिनेटमा लैजाने काम गर्दछु । मन्त्री यस्तो धेरै लाग्दा पनि जग्गा उपलब्ध हुन सक्दैन भने कसरी गर्ने ? हामीले जग्गा उपलब्ध हुन्थ्यो भने यही वर्ष बहुवर्षे आयोजना अन्तर्गत पूर्वाधार निर्माणको कार्यक्रम राख्न सक्थ्यौँ' मन्त्री पौडेलले भने 'तर जग्गा उपलब्ध हुन सकेन । सेवा बिस्तार गर्न र झक्झक्याउनका निम्ति अस्पताल अस्पताल पुगेर काम अघि बढाउन खोजिरहेको छु । १४ वर्ष मुनिका क्यान्सरका बिरामी बालबालिकाको उपचार निःशुल्क हुन्छ भन्यौँ । हामीले तत्काल लागू गरेका छौँ ।'

'सरकारले कुनै थप रकम दिएको छैन, अस्पतालले नै लागू गरिरहेको छ । अस्पतालको क्षमता जबरजस्त बढाएर सेवा बिस्तार गर्ने कोशिस गरिरहेका छौँ । बाहिर के भनिन्छः श्रोत सुनिश्चित नगरी घोषणा गरिएको छ भनिन्छ । यहाँ घोषणा गरेको के गफ गरेको कुरा मात्रै हो त ? त्यसैले श्रोत आन्तरिक रुपमा नै हामीले उपलब्ध गराएर, राज्यलाई भार नपर्ने गरी, उदारो नहुने गरी सेवा, शुरु गरेपछि बीचमै बन्द नहुने गरी हामीले आन्तरिक साधन, श्रोतलाई नै उपयोग गरेर सेवा बिस्तार गरिरहेको स्थिति छ । हामीले जलन उपचार निःशुल्क बनायौँ' मन्त्री पौडेलले भने ।

'१४ वर्ष मुनिका बालबालिकाको उपचार निःशुल्क बनाएका छौँ । त्यहाँ करिव ८० प्रतिशत औषधि समेत निःशुल्क भएको स्थिति छ । स्टोक जस्तो महंगो औषधि पनि हामीले तीन वटा अस्पतालमा निःशुल्क गरेर औषध उपलब्ध गराएका छौँ । हेमोफेलियाको औषधि ल्याएर अस्पतालमा उपलब्ध गराएर निःशुल्क वितरण भएको छ' मन्त्री पौडेलले भने 'राज्यसँग श्रोत छैन, श्रोत छैन भनेर यत्तिकै बस्ने कुरा हुँदैन । त्यसैले अस्पतालसँगै भएका उपकरण, जनशक्ति पूर्वाधारलाई अधिकतम कसरी प्रयोग गर्न सकिन्छ ? बरु प्रशासनलाई साँघुरो बनाउने, प्रशासनका कोठाहरू उपचारका निम्ति प्रयोग गर्ने । स्वास्थ्यमा प्रशासनिक क्षेत्रमा जनशक्ति बढ्न सक्दैन । उपचारात्मक क्षेत्रमा मात्रै जनशक्ति बढ्छ । डाक्टर चाहिएको छ, प्रशासक ल्याएर त हुँदैन ।’

मन्त्री पौडेलले अधिकतम क्षमताबाट उपचार बिस्तार गर्नुपर्ने बताए ।