चितुवाको आक्रमणबाट मृत्यु भएका परिवारलाई क्षतिपूर्ति

तनहुँ- जिल्लास्थित डिभिजन वन कार्यालयले चितुवाको आक्रमणमा परी मृत्यु भएका यहाँका १४ परिवारलाई क्षतिपूर्तिस्वरुप रु एक करोड ४० लाख प्रदान गरेको छ । जिल्लाको विभिन्न स्थानमा भएका चितुवाको आक्रमणबाट ज्यान गुमाएका १६ बालबालिकामध्ये १४ जनाका परिवारलाई जनही रु १० लाखका दरले उक्त रकम हस्तान्तरण गरिएको हो ।
मृत्यु भएका दुई जनाका परिवारलाई रु २० लाख भुक्तानी दिन बाँकी रहेको डिभिजन वन कार्यालयका वन अधिकृत एवं सूचना अधिकारी राजकुमार श्रेष्ठले जानकारी दिनुभयो । वन्यजन्तुको आक्रमणबाट मृत्यु भएमा रु १० लाख दिने व्यवस्था भएको जनाउँदै उहाँले रकम निकासा नभएकाले भुक्तानी दिन बाँकी रहेको बताए । उनका अनुसार वन्यजन्तुको आक्रमणबाट घाइते भएका २१ जनालाई रु नौ लाख ४५ हजार ५२६ उपचार खर्च प्रदान गरिएको छ ।
विसं २०७४ फागुन ९ गतेदेखि हालसम्म आठ वर्षको अवधिमा जिल्लाका विभिन्न स्थानमा भएको चितुवा आक्रमणमा परी ११ बालक र पाँच बालिका गरी १६ बालबालिकाको मृत्यु भइसकेको छ । चितुवा आतङ्क बढ्न थालेपछि डिभिजन वन कार्यालयको सक्रियतामा चितुवा नियन्त्रणका लागि पासो थपिएको छ । बाख्रा खान जाँदा चितुवा पासोमा पर्ने हुँदा नियन्त्रणका लागि सहज भएको डिभिजन वन कार्यालयले जनाएको छ ।
चितुवाबाट जिल्लाको भानु, बन्दीपुर, आँबुखैरेनी, व्यासलगायत पालिका बढी प्रभावित छन् । चितुवाको आक्रमणबाट सबैभन्दा बढी भानु नगरपालिका प्रभावित भएको छभने हाल बन्दीपुर गाउँपालिकामा पनि आतङ्क बढेको सूचना अधिकारी श्रेष्ठले उल्लेख गरे । उनका अनुसार विभिन्न ठाउँमा गरी २० स्थान पासो राखिसकिएको छ । एकपटक आक्रमण भएको ठाउँमा चितुवाले पुनः आक्रमण गर्ने सम्भावना रहने हुँदा नियन्त्रणमा लिन सोही ठाउँ आसपासमा पासो राख्ने गरिएको वन अधिकृत नवीन विश्वकर्माले बताए ।
चितुवाका लागि सिकार गर्ने अनुकूल समय साँझपख हुने भएकाले घरबाहिर निस्कन नहुने र बालबालिकालाई एक्लै छाड्न नहुने उहाँको भनाइ छ । साँझमा सिकार खोज्ने चितुवाले मृग, कुकुर वा गाईवस्तुका बाछाबाछी नभेट्दा बालबालिका निशानामा पर्ने जोखिम हुने भएकाले सतर्कता अपनाउन विश्वकर्माले स्थानीयलाई आग्रह गर्नुभयो ।

नक्कली सुनको मूर्ति देखाई ठगी गर्ने पक्राउ

हावाहुरीले उदयपुरमा दर्जनौँ घर र विद्यालमा क्षति

गर्मी बढेपछि लहानका विद्यालयमा ‘एक कक्षा, एक पङ्खा’ कार्यक्रम

राष्ट्रिय कलेज सुक्खडका पूर्वक्याम्पस प्रमुखको रूखले च्यापिएर मृत्यु

कारको ठक्करबाट दुई महिलाको मृत्यु

सगरमाथा संवाद सुरु

बिटिआर स्वीकृत, सगरमाथा संवादमा घोषणा हुँदै

प्रतिक्रिया