अझै बनेन दुई वर्षअघि भासिएको बिरिङको पुल

झापा- अर्जुनधारा नगरपालिकास्थित बिरिङ खोलामा दुई वर्षअघि बाढीले भासिएको पक्की पुल अझैसम्म बनेको छैन । झापाको विर्तामोडबाट अर्जुनधारा हुँदै इलामको माइ नगरपालिका जोड्ने उक्त पुलमा जोखिम मोलेर साना सवारी आवतजावत गरिरहेका छन् ।
स्थानीय मेघराज रम्तेलले भासिएको पुल तत्काल मर्मत सम्भार गर्न सरकारले चासो नदेखाएको बताए । उनी भन्छन्, ‘पहिलो वर्ष त बजेट थिएन होला भनेर चित्त बुझायौँ, अब दोस्रो वर्ष पनि नबन्दा चाहिँ चिन्ता लागेको छ ।’
हिउँदमा सवारी आवागमन हुने उक्त पुल बर्खामा बन्द हुने गरेको छ । पुलको छत भासिएर खोलामा पुगेको कारण अब सो स्थानमा नयाँ पक्की पुल बनाउनु पर्ने स्थानीयवासीको माग छ । बर्खाको बाढी पुलमाथिबाट बग्ने गरेको छ ।
अर्जुनधारा नगरपालिकाका सूचना अधिकारी हेमराज सेढाईले पुल निर्माणमा बजेट व्यवस्थापनका लागि पालिकाले सङ्घीय सरकारसँग अनुरोध गरेको बताए । ‘सभामुख देवराज घिमिरे र भौतिक पूर्वाधार मन्त्री देवेन्द्र दाहालले चासो देखाउनुभएको छ’, उनले भने, ‘उहाँहरुले पुलको अवस्था हेर्नु भएको पनि छ र आगामी वर्षको बजेटमा पुल पर्ने आशा गरेका छौं ।’
नगरपालिकासँग नयाँ पुल निर्माण गर्न पुग्ने बजेट नभएको जनाउँदै उनले सङ्घीय सरकारकै बाटो कुर्नु बाध्यता भएको बताए । पुल भासिएर काम नलाग्ने भइसकेको कारण मर्मतसम्भारबाट काम नचल्ने उनको भनाइ छ ।
विसंं २०६५ सालमा भारत सरकारको रु दुई करोडको सहयोगमा उक्त पुल निर्माण गरिएको थियो । पुल निर्माणसँगै सो सडकमा लामो दूरीका यातायातसमेत चल्न थालेका थिए ।
सडक डिभिजन कार्यालय दमकका सूचना अधिकारी विपीन ढुङ्गानाले चालु आर्थिक वर्षको कार्ययोजनामा सो पुल नपरेको बताए ।

धुलिखेल–साँगा सडक खण्ड कालोपत्र सुरु

‘हिमालका विषय उजागर गर्न सफल भएका छौँ’ : सचिव राई

एकैपटक रक्सी छाडे निम्तिन सक्छन्, यस्ता समस्या

आजको मौसम : यी प्रदेशमा चट्याङ्गसहित वर्षा

हावाहुरीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान प्रभावित,आठ विमान ‘डाइभर्ट’

देउवा र जनार्दनका बिचमा भेटवार्ता

जलवायु नेतृत्वमा नेपाल दृढ छ : वनमन्त्री ठकुरी

प्रतिक्रिया