जसले अचार बेचेरै कमाउँछन् महिनाको ६० हजार

कैलाली- यहाँका युवा व्यवसायी करन ऐरले धनगढी उपमहानगरपालिका–९ बङ्राकटानमा विगत आठ वर्षदेखि शान्ति बाटिका फलफूल प्रशोधन उद्योग सञ्चालन गर्दै आएका छन् । यस उद्योगबाट उहाँले विभिन्न थरिथरीका अचार बनाएर बिक्री गर्दै आएका छन् ।
विशेषगरी यहाँ आँप, अमला, कागती, तामा, लसुन, अकबरे खुर्सानी, करेला, मुलालगायत अचार बनाउने गरिएको छ । ऐरले थोरै लगानीमा सुरु गरेको व्यवसायबाट पछिल्लो समय राम्रो आम्दानी भइरहेको बताए । अचार बिक्रीबाट मासिक रूपमा रु एक लाख ५० हजार बराबरको कारोबार हुने गरेका र त्यसमध्ये खर्च कटाएर करिब रु ६० हजार बचत हुने गरेको उनले सुनाए ।
“यसै व्यवसायबाट ११ जनाको परिवारको लालनपालन भइरहेको छ । स्थानीय तीन जनाले रोजगार पाएका छन् । परिवारको सम्पूर्ण खर्च र कामदारको तलब व्यवस्थापन गरेर पनि राम्रै कमाई भइरहेको छ”, ऐरले भने ।
उनले वर्षभरि अचारको कारोबार गर्दै आउनुभएको छ । यहाँ उत्पादित अचार कैलालीका धनगढी, अत्तरिया, टीकापुर, कञ्चनपुरको महेन्द्रनगरलगायत स्थानमा बिक्री भइरहेका छन् । स्थानीय उत्पादनको उपयोग गर्दै कुनै मिसावटबिना अचार बनाउने भएकाले पनि धेरैको रोजाइमा पर्ने गरेको व्यवसायी ऐरको भनाइ छ ।
उनले भने, “स्वास्थ्यलाई हानी हुने हिसाबले हामी अचार बनाउँदैनौँ, अचारमा प्रयोग हुने नुन, तेल, मरमसालालगायत सबै चिज ठीक गुणस्तरी र मात्रा मिलाएर प्रयोग गरिरहेका छौँ । त्यसैले पनि ग्राहकले गुनासो गर्ने अवस्था आएको छैन ।”
धेरैजसो व्यक्तिहरू कमाउनका लागि विदेश पलायन भइरहेका बेला ऐर भने सानै लगानीबाट आफ्नो ठाउँ र परिवारसँगै बसेर आत्मनिर्भर बनिरहेका छन् । “गर्न जान्यो भने आफ्नै देशमा पनि केही हुन्छ भन्ने उदाहरण दिइरहेको छु । ११ जनाको परिवारको गर्जो यसैबाट टरेको छ । तीन जनालाई रोजगारी दिएको छु”, उनले भने,“सबैभन्दा ठूलो कुरा आफ्नै देशमा घरपरिवार, समाज र साथीभाइसँगै बसेर रमाउन र कमाउन पाइएको छ । यो नै खुसीको कुरा हो ।” रासस

सिरहा छोटी भन्सारको राजस्व सङ्कलनमा वृद्धि

आजको लागि विदेशी मुद्राको विनिमय दर

कजारियाको नयाँ शोरूम बनेपामा उद्घाटन

इन्फिनिक्सको १८ महिनाको वारेन्टी र निःशुल्क स्क्रीन रिप्लेसमेन्ट अफरसहित ग्राहक स…

नापतौल ठगीको कसुरमा दुई हजारभन्दा बढी कारबाहीमा

बहुगुणी अन्न कोदोः खेती गर्न किसानको अरुची

कति छ आज सागसब्जी र फलफूलको मूल्य ?

प्रतिक्रिया