शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

हेटौँडामा पहिलो पटक इ–स्पोटर्स अन्तर्गत फ्रि फायर प्रतियोगिता

हेटौडामा पहिलो पटक इ–स्पोटर्स अन्तरगत फ्रि फायर प्रतियोगिता आयोजना भएकाे छ । आयोजकले  पत्रकार सम्मेलनको आयोजना गरेर हेटौँडाबाट प्रसारण हुँदै आएको नेशनल गोल्ड टेलिभिजनको आयोजना प्रतियोगिता हुन लागेको जानकारी दिएको छ ।  

पत्रकार सम्मेलनमा प्रतियोगिताका संयोजक उत्सर्ग चौलागाईले बिहीबार देखि सुरु हुने इ–स्पोट्र्स अन्तर्गत फ्रि फायर प्रतियोगितामा १ हजार जना सहभागीहरू निश्चित भइसकेको जानकारी दिनुभयो । प्रतियोगितामा सहभागिताका लागि ३ दिनमै एक हजार सहभागीको आवेदन प्राप्त भएपछि आवेदन लिन बन्द गरिएको उहाँले बताउनुभयो । 

प्रतियोगितामा प्रारम्भिक चरणका खेलहरू अनलाइनमार्फत नै हुने र क्वार्टरफाइनल चरणदेखिका खेल भौतिक रुपमा उपस्थिति भएर हुने उहाँले बताउनुभयो । हेटौँडा स्कुल अफ म्यानेजमेन्टको मुख्य प्रयोजन रहेको प्रतियोगिताको भौतिक रुपमा हुने खेलहरू हेटौँडा–१ स्थित हिमालयन दरबार पार्टी प्यालेसमा हुने बताइएको छ । प्रतियोगिताको फाइनल खेल जेठ १७ गते हुने साथै जम्मा पुरस्कार रकम १ लाख रुपैयाँ हुने आयोजकले जानकारी दिएको छ । 

कार्यक्रममा टेलिभिजनका अध्यक्ष उज्जवल चौलागाईले अहिलेको सूचना प्रविधिमा आधारित युवा पुस्ता माझ लोकप्रिय खेल पहिलो पटक आयोजना गर्न लागिएको बताउनुभयो । प्रतियोगितामा १६ वर्ष उमेर पूरा भएका व्यक्तिले मात्रै सहभागिता जनाउन पाउने जनाइएको छ ।