शुक्रबार ०९ जेठ, २०८२
Friday, May 23, 2025

कोभिड र आर्थिक मन्दीले पिल्सिएका व्यवसायीको कथा 'के घर के डेरा : घर नम्बर २'

काठमाडौं : पछिल्लो समय नेपालले भोगेको आर्थिक मन्दी र त्यसले व्यवसायमा पारेको प्रभाव चित्रण गरिएको फिल्म ‘के घर के डेरा : घर नं २’ हलहरूमा चलिरहेको छ । 

खगेन्द्र लामिछाने, निश्चल बस्नेत, आर्यन सिग्देल, केकी अधिकारी, उपासना सिंह, सिर्जना नापित, प्रकाश घिमिरे लगायतले अभिनय गरेको मल्टिस्टार यो फिल्ममा सम्पूर्ण घरबेटी र घर भाडामा बस्नेले आफूलाई फिल्ममा कुनै न कुनै हिसाबमा महसुस गर्न सक्ने फिल्मका कार्यकारी निर्माता युवराज कार्कीले बताए ।

नाकाबन्दी, कोभिड-१९ र त्यसपछि उत्पन्न आर्थिक मन्दी, बस दुर्घटना, एक व्यवसायीले बानेश्वरमा गरेको अत्मदाह, मिटरब्याज, अश्लील सामग्री पठाएर गरिने साइबर क्राइमजस्ता देशका पछिल्ला प्रतिनिधि आर्थिक र सामाजिक घटना वरिपरि फिल्मको कथा बगिरहन्छ ।  

नाकाबन्दीका कारण फलफूल र तरकारी कन्टेनरमै कुहिएर ठूलो आर्थिक क्षति बेहोरेका व्यवसायी आफ्नो महलबाट भाडाको कोठामा संघर्ष गर्छन् । आफ्नो ऋण तिर्न घर बेचेर कोठामा बसेका उनी आफूलाई अरूले दिनुपर्ने उधारो रकम नदिँदा भने पटक-पटक पीडाले छटपटाउँछन् । 

घरबेटीको भूमिकामा आर्यन सिग्देल छन् । कोभिड र आर्थिक मन्दीअघिसम्म राम्रोसँग चलेको ट्राभल व्यवसाय डुबेर घर नै लिलाम हुने स्थिति कसरी सिर्जना हुन्छ र त्यसले घर परिवारमा कस्तो किसिमको असर पुगेको छ भन्ने दृश्य फिल्ममा देखाइएको छ । 

नाकाबन्दीको समयमा तरकारी तथा फलफूल व्यवसायीको पीडा फिल्ममा देखेपछि आफूले आँसु रोक्न नसकेको लमजुङबाट काठमाडौं आएर तल्कालीन समयमा फलफूल व्यवसाय सुरु गरेका अमृत बस्नेतले बताए ।

चलचित्रमा देखाइएको पीडा आफ्नै र अन्य पर्यटन व्यवसायीको कथा रहेको फिल्म हेरेपछि पर्यटन व्यवसायी एवं टानका वरिष्ठ उपाध्यक्ष सोनम शेर्पाले अनुभव साटे ।

आर्थिक र मानसिक समस्याले प्रताडित हुँदा निम्तिने घर झगडा र त्यसले बाल मनोविज्ञानमा पर्ने असर फिल्ममा चित्रण गरिएको छ ।

मिटरब्याजको ऋण लिँदा कसरी व्यवसायी मर्कामा पर्छन् र नराम्रो काम गर्न बाध्य हुन्छन् भन्ने दृश्य पनि फिल्ममा राखिएको छ । नायक निश्चल बस्नेत मिटरब्याज पीडितको भूमिकामा देखिएका छन् । उनले लिएको ऋण सबै तिरिसक्दा पनि मिटरब्याजी साहुले भने अझै ऋण तिर्न बाँकी रहेको भन्दै दिएको मानसिक पीडा र त्यसबाट उम्किन उनले गरेको हर्कतलाई फिल्ममा राम्रोसँग देखाइएको छ । 

सिनेमाटोग्राफर कृष्णबहादुर थापाले खिचेका दृश्य र साउन्ड इफेक्ट फिल्मका उत्कृष्ट प्राविधिक पक्ष हुन् ।

उपन्यासकार तथा कवि बुद्धिसागरको कथामा निर्माण गरिएको फिल्म करिब साढे २ घण्टाको छ । नकिम उद्दिन, शरद श्रेष्ठ, किरण महर्जन निर्माता रहेको फिल्मको निर्देशन दीपेन्द्र के खनालले गरेका हुन् ।