के माओवादी आन्दोलन उठाउन वाइसीएल तयार छ ?

नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको सहायक संगठन योङ कम्युनिस्ट लिग नेपाल वाइसीएल युवाहरूलाई राजनीतिक रूपमा जागरूक, अनुशासित र संगठनबद्ध बनाउने उद्देश्यले स्थापित एक अग्रगामी संगठन हो । माओवादी आन्दोलनको ऐतिहासिक पृष्ठभूमिमा जन्मिएको वाइसीएल विगतमा महान दश वर्षे जनयुद्ध पश्चात माओवादी आन्दोलनको अग्र मोर्चाको रुपमा स्थापित संगठन आजको परिवेशमा विचार, संगठन र सेवालाई आत्मसाथ गर्दै समाज रूपान्तरणमा युवाको प्रभावकारी भूमिका स्थापित गर्न क्रियाशील छ ।
माओवादी आन्दोलन नेपालको इतिहासमा एउटा महत्वपूर्ण क्रान्तिकारी आन्दोलन हो जसले लामो समयसम्म जनयुद्ध गरेर सामाजिक रूपान्तरणको मार्ग प्रशस्त गर्यो । माओवादी आन्दोलनको सहायक शक्तिका रूपमा स्थापित भएको वाइसीएलले आफ्नो भूमिका सदैव क्रान्तिकारी युवाहरूलाई संगठित गर्ने अन्याय अत्याचारको विरोधमा निरन्तर संघर्ष गरिरहेको युवाहरूको दस्ता हो ।
यसै सन्दर्भमा पंतिकार अखिल (क्रान्तिकारी) को सांगठनिक जिम्मेवारीबाट विदा लिँदै वाइसीएलमा आवद्ध भई पहिलो पटक वाइसीएलको सिन्धुपाल्चोक जिल्लाबाट प्रतिनिधिको रुपमा बागमती प्रदेशको प्रथम सम्मेलनमा सहभागी हुने अवसर प्राप्त भयो । राजनीतिक जीवन सुरुवातदेखि अखिल (क्रान्तिकारी) मा आवद्ध भएको अनुभुति संगाल्दै वाइसीएलको प्रथम बागमती सम्मेलनमा सहभागी हुँदा केही नौलो अनुभुतिहरू मनमा आइरहेको थियो । नयाँ अनुभुतीहरू संगाल्ने र वाइसीएललाई नजिकबाट बुझ्न तीन दिनको सम्मेलनमा नियमित रुपमा उपस्थित भए र केही नयाँ कुरा सिक्न संकल्प गरेँ ।
यस सम्मेलनमा सहभागी हुँदै गर्दा मैले केवल एउटा राजनीतिक कार्यक्रममा नभई चेतनाको एक गहिरो सागरमा डुबुल्की मारिरहेको अनुभव गरें । सम्मेलनले मनोबल र सोचमा नयाँ उर्जा भर्नुको साथै पार्टीको आन्तरिक जीवनमा युवाहरूको वैचारिक स्पष्टता र सामाजिक जिम्मेवारीबारे गहिरो चेतना जगायो । यहाँ देखिएको अनुशासन, समर्पण र युवा एकताको भावना एउटा नयाँ प्रेरणा बन्यो ।
सम्मेलनको झलक
वाइसीएलको बागमती प्रदेश प्रथम सम्मेलनमा प्रदेशका १३ जिल्लाबाट प्रतिनिधिहरूको उत्साहजनक सहभागिता रहेको थियो । सम्मेलनस्थलमा प्रवेश गर्दा क्रान्तिकारी गीत, झण्डा, क्याप, नारा र अनुशासित पङ्क्तिले, उर्जा, जोश र सामूहिकताको अनुभूति गराउँथ्यो । सम्मेलनको उद्घाटन सत्र विशेष आकर्षणको विषय थियो- जहाँ प्रमुख अतिथि पार्टीका उपमहासचिव वर्षमान पुन अनन्तलगायत अन्य नेताहरूको उपस्थिति ।
कार्यक्रमस्थलको हल प्रतिनिधिहरूले भरिभराउ थियो । सम्मेलनमा प्रतिनिधिको रूपमा सहभागी हुँदै गर्दा माओवादी आन्दोलनको जोशिला युवाहरू सम्मेलनस्थलमा छरिएका हरेक अनुहारमा भविष्यप्रतिको दृढ सङ्कल्प झल्किन्थ्यो, जुन केवल शब्दहरूमा होइन, व्यवहार र दृष्ट्रिमा प्रतिबिम्बित थियो । त्यो उत्साह र अनुशासनको मेलले माओवादी आन्दोलनमा एउटा नयाँ सन्देश दियो । जहाँ युवाहरू माओवादी आन्दोलन उठाउन फेरि एक पटक संघर्ष गर्न तयार रहेको त्यो उपस्थितिले देखाउँथ्यो ।
राजनीतिक रुपमा, सम्मेलनले माओवादी आन्दोलनको निरन्तरता र नवप्रवर्तनको सङ्केत महसुस गरायो । खुल्ला सत्रमा नेताहरूको जोड विगतका संघर्षले बनाएको आधारलाई अझ सशक्त बनाउँदै, नयाँ युवाहरूलाई अकार्षण गराउने अहिलेको युगमा वैचारिक स्पष्टता, संगठनात्मक मजबुती र जनसेवामा जोड दिनुपर्ने यात्राको क्रममा देखिएका चुनौतीहरू सामना गर्न वाइसीएल तयार रहनुपर्ने, यो आन्दोलन अब निम्न वर्गको जागरूकता, उत्पादन, स्वरोजगार, सुशासन समाजिक न्याय समृद्धि र समाजवादको आधार तयार गर्न सबै युवाहरू लाग्नुपर्ने विषयमा राजनीतिक सूझबुझ राख्नुभयो ।
वैचारिक र सांगठनिक पक्ष
राजनीति केवल शक्ति र प्रभावको खेल होइन, सपना बुनेर नयाँ समाज निर्माण गर्ने एक बहुआयामिक प्रक्रिया हो । सम्मेलनमा उठेका वैचारिक बहसहरूले राजनीतिक दृष्टिकोण र संगठनात्मक मजबुतीलाई अझ स्पष्ट बनायो । सहभागीहरूले विशेष रूपमा युवा वर्गको राजनीतिक चेतना जगाउने, वर्गीय संघर्ष र समाजवादको महत्वबारे गहिरो बहस गर्यो । देशको राष्ट्रिय तथा अन्तराष्ट्रिय परिस्थिति वर्तमान समयमा युवाहरूको समस्या र वाइसीएलको भूमिकाबारे छलफल भयो । वाइसीएल आन्दोलनको शक्ति मात्र होइन, वैचारिक नेतृत्व र सामाजिक परिवर्तनको भूमिका निर्वाह गर्नुपर्ने, संगठनात्मक लक्ष्यहरू स्पष्ट पार्दै सम्मेलनले प्रत्येक कार्यकर्ता अनुशासित, प्रतिबद्ध र राजनीतिक रूपमा सुसज्जित हुनुपर्ने आवश्यकतालाई प्राथमिकता दियो ।
युवा सहभागितालाई केवल संख्यात्मक रूपमा मात्र नभई सक्षम नेतृत्व र नीति निर्माणमा सक्रिय भूमिका निभाउने विषयमा गम्भीरताका साथ छलफल भयो । विशेष गरी वैचारिक स्पष्टता र संगठनमा अनुशासनको महत्वलाई स्वीकार्दै, युवा वर्गलाई परिवर्तनका अग्रदूत बनाउन सहयोग गर्ने, प्रशिक्षण र सङ्गठन विस्तारमा बल दिने विषय उठान भयो यसले वाइसीएलको आगामी दिनका गतिविधिहरूलाई मात्र होइन् सम्पूर्ण माओवादी आन्दोलनको भविष्यलाई समेत सुदृढ गर्ने विश्वास सम्मेलनको हलमा गुन्जयमान भयो ।
वाइसीएल बागमती प्रदेश प्रथम ऐतिहासिक सम्मेलनले स्पष्ट र ठोस निष्कर्षहरू निकाल्दै संगठनलाई आगामी दिनमा सशक्त, अनुशासित र जनसम्पर्कमूलक बनाउने प्रतिबद्धता जनायो । विशेष गरी संगठन विस्तारलाई प्राथमिकता दिँदै वडास्तरको संरचना निर्माण जसले सबै तहमा युवाहरूलाई समेट्ने, वैचारिक प्रशिक्षण र अभियानलाई संगठनको आधारभूत आवश्यकता मानेर सबै कार्यकर्तालाई राजनीतिक रूपमा सुसज्जित र विचारमा स्पष्ट बनाउन सक्रिय रहनुपर्ने कुरा जोड गर्यो ।
त्यसैगरी सामाजिक उत्तरदायित्वलाई उच्च प्राथमिकतामा राख्दै स्वयंसेवक, विपद् उद्धार, स्वास्थ्य र शिक्षा जस्ता क्षेत्रहरूमा सक्रियता बढाउने, नेपाली जनजीवनमा प्रत्यक्ष सकारात्मक प्रभाव पार्न विभिन्न रचनात्मक कार्यक्रमहरू सञ्चालन गर्ने । सम्मेलनले विदेशी सांस्कृतिक प्रभाव र उपभोगवादविरुद्ध नेपाली मौलिक सांस्कृतिक जागरण अभियान सञ्चालन गर्ने र सुशासन, सामाजिक न्यायको संकल्प गर्यो, जसले युवाहरूमा राष्ट्रियता र आत्म-सम्मानको भावना जागृत गर्नेछ । अन्ततः सम्मेलनले लोकतान्त्रिक अभ्यास, समानता र नेतृत्व विकासलाई अत्यन्त महत्वपूर्ण पक्षको रूपमा स्थापित गर्दै, संगठनभित्रका अन्तरविरोधहरू हल गर्दै, सहभागी नेतृत्वलाई बन्द सत्रको हलले प्रोत्साहन गरि हौसाला प्रदान गर्दै संगठनलाई मात्र नभई समग्र माओवादी आन्दोलनलाई नयाँ ऊर्जा र दिशा प्रदान गर्ने विश्वास जगायो । समय र परिवेशसँगै माओवादी आन्दोलनमा पनि रूपान्तरण अपरिहार्य छ ।
आजको सामाजिक, आर्थिक र राजनीतिक परिवेशमा नयाँ पुस्ताले नयाँ चुनौतीहरूको सामना गर्दै वैचारिक रूपमा सशक्त हुनुपर्दछ । विचार र नीति निर्माणमा पनि सङ्गठित नेतृत्व आवश्यक छ, जसले वर्तमान युगका समस्याहरूलाई बुझेर समाधानका उपाय खोज्न सक्छ । यसैले वाइसीएलले आफ्नो गतिविधिलाई सशक्त वैचारिक प्रशिक्षण, सामाजिक जागरण र लोकतान्त्रिक अभ्यासमा केन्द्रित गर्दै, आन्दोलनलाई नविन आयाम दिनुपर्छ ।
वर्तमान परिवेशमा जहाँ वर्गीय राजनीति र वैचारिक संघर्ष अझ गहिरो हुँदै गएको छ । संगठनले सर्वहारा वर्गको राजनीतिक जागरण र राष्ट्रिय सार्वभौमिकताको पक्षमा स्थायी संघर्षको भूमिका निर्वाह गर्नुपर्नेछ । यसले माओवादी आन्दोलनलाई समाजवाद र समाजिक न्यायसहितको राष्ट्र निर्माण गर्न नयाँ उचाई प्रदान गर्दछ । माओवादी आन्दोलनको निरन्तरता र सशक्तिकरणका लागि वाइसीएलको भूमिका नयाँ पुस्ता वैचारिक रूपमा सुसज्जित, संगठनात्मक रूपमा सुदृढ र सामाजिक रूपमा जिम्मेवार युवा नेतृत्वका रूपमा स्थापित हुन पर्दछ र यसरी नयाँ पुस्तालाई माओवादी आन्दोलनमा केन्द्रिकृत गर्दै आधुनिक राजनीतिक चुनौतीहरूसँग लड्न र लोकतान्त्रिक समाज निर्माणमा सक्रिय भूमिका खेल्न संगठनलाई सक्षम बनाउनेछ ।
राजनीतिक दृष्टिले यो सम्मेलन युवाहरू केवल अनुयायी मात्रा होइन, विचारक र नेतृत्वकर्ता बन्ने दिशामा अग्रसर भएका छन् अव संगठनको भूमिका केवल संगठन विस्तारमा सीमित छैन । यो वैचारिक प्रशिक्षण, सामाजिक सेवा र यूवाहरूलाई गोलबन्ध गरी नयाँ राजनीतिक चेतना जगाउने केन्द्र बन्नु पर्नेछ ।
वाइसीएलको अभियानले नेपाली युवामा नयाँ आशा र क्रान्तिकारी ऊर्जा भर्न सफल हुनेछ । यसले युवालाई केवल राजनीतिक कार्यक्रममा संलग्न गराउने मात्र होइन, सक्रिय, जिम्मेवार र वैचारिक रूपमा सक्षम नेतृत्वकर्ता बन्न प्रेरित गर्नेछ । पुनः सशक्तिकरणले युवालाई सामाजिक परिवर्तन र राष्ट्रिय विकासमा प्रभावकारी भूमिका खेल्न तयार पारिरहेको छ, जुन माओवादी आन्दोलनको दीर्घकालीन यात्राको लागि आवश्यक छ ।
आजको जटिल राजनीतिक र सामाजिक परिवेशमा युवाहरूले सपना मात्र होइन्, त्यस्ता सपनालाई व्यवहारमा परिणत गर्ने दृढ संकल्प र स्पष्ट रणनीति आवश्यक छ । आम युवाहरू वाइसीएल संगठनमार्फत संगठित, अनुशासित र वैचारिक रूपमा सशक्त बनाउने अभियानमा गोलबन्द हुन आवश्यक छ । युवा शक्तिले मात्र देशलाई समृद्धि र न्यायपूर्ण समाजतर्फ अघि बढाउन सक्नेछ ।
अन्तत: माओवादी आन्दोलनलाई नयाँ पुस्ताले अगाडि बढाउनुपर्ने यो युगको चुनौती हो । विगतका संघर्ष र उपलब्धिहरूबाट सिक्दै, नयाँ विचार, नयाँ शैली र नयाँ नेतृत्वले यो आन्दोलनलाई अझ बलियो बनाउनु आवश्यक छ । उद्दमशिलता, नवप्रवर्तन, स्वरोजगार, सुशासन, सामाजिक न्याय, समृद्धि र समाजवादको यात्रमा वाइसीएलको अभियान निरन्तर रहने छ भन्ने दृढ विश्वास छ ।

‘सरकारले सांसदले उठाएका जनताका मागलाई सम्बोधन गर्नुपर्छ ’: गोमादेवी तिमिल्सि…

अन्तर्राष्ट्रिय जैविक विविधता दिवस र नेपाल सन्दर्भ

जलवायु सङ्कट समाधानमा विश्वव्यापी सहकार्य

हिमाल बचाउ अभियानका लागि सगरमाथा संवाद

‘हाम्रो भूमिका कानुन बनाउने भए पनि पुल बनाऔँ, बाटो बनाऔँ भन्नु परेको छ’: म…

युवा केन्द्रित नीति जरुरी छः अध्यक्ष श्रेष्ठ

पर्यटकीय सम्भावना भएर पनि ओझेलमा परेको गन्तव्य प्रचार गर्दैछौंः सिताराम घिमिरे…

प्रतिक्रिया