मंगलबार १७ असार, २०८२
Tuesday, July 01, 2025

निकिताले सर्वोच्चको फैसलापछि भनिनः शुक्रबारको तनाब, अनिन्द्रा र रुवाई, जिन्दगीकै अत्यन्तै कठिन दिन

काठमाडौँ- रास्वपा सभापति रवि लामिछानेपत्नी निकिता पौडेलले आफूले सर्वोच्च अदालतबाट पनि न्याय नपाएको गुनासो गरेकी छन्।  रवि थुनामुक्त नभएपछि सोमबार उनले सामाजिक सञ्जाल फेसबुकमार्फत  ‘न्याय र मानवीयता मृत भेटेपछि मेरो आस्था र विश्वासको जग बेस्सरी हल्लिएको’ धारणा व्यक्त गरेकी छन् ।

निकिताले श्रीमान् लामिछानेविरुद्ध प्रमाण नहुँदानहुँदै पनि मुद्दा चलाइएको दाबी गर्दै सर्वोच्च अदालतमा पेस गरिएको गैरकानुनी पक्राउसम्बन्धी रिटमा कुनै निर्णय नआएको समेत गुनासो गरेकी छन्।

निकिताले लेखेकी छिन्-  ‘जेठ ९ गते शुक्रबार, सर्वोच्च अदालतमा सुनुवाइको अन्तिम दिन थियो। बहस सकिएपछि आदेश कुर्दा कुर्दा ७ घण्टा बित्यो। प्रवक्ता ‘एकैछिन’ भन्दै कार्यकक्षबाट निस्किए, फर्किएनन्। पछि थाहा भयो—आदेश बाहिर अनलाइनमा छापिइसकेको रहेछ। म निवेदक हुँ, तर आदेश मभन्दा पहिला पत्रकारले थाहा पाउँछन्।’

उनले अदालत प्रशासनप्रति आक्रोश व्यक्त गर्दै ‘न अदालतले न्याय दियो, न मानवीय व्यवहार नै देखायो’ भनेकी छन्। निकिताले शुक्रबारको दिन आफ्ना लागि जिन्दगीकै कठिन र पीडादायी बनेको उल्लेख गरेकी छन्। रातभर अनिन्द्रामा बितेको बताउँदै उनले लेखेकी छन्, ‘शुक्रबारको तनाव, अनिन्द्रा र रुवाई...जिन्दगीकै अत्यन्तै कठिन दिन। भोलिपल्ट भैरहवा जानु थियो, म जिउँदो लास भएर हिँडेछु।’