‘हिमालयन ट्राभल मार्ट’को पाँचौँ संस्करण जेठ २० गतेदेखि

काठमाडौँ- नेपालको पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले अन्तरराष्ट्रिय पर्यटन मेला ‘हिमालयन ट्राभल मार्ट (एचटीएम)’को पाँचौँ संस्करण यही जेठ २० देखि २२ सम्म काठमाडौँमा आयोजना हुने भएको छ ।
प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर र नेपाल पर्यटन बोर्डले नेपाल एयरलाइन्सलगायत अन्य प्रमुख पर्यटन सङ्घ, संस्था र राष्ट्रिय तथा अन्तरराष्ट्रियस्तरका साझेदार संस्थासँगको सहकार्यमा आयोजना हुने एचटीएमको सम्पूर्ण तयारी पूरा भएको आज यहाँ आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । एचटीएममा १०० भन्दा बढी अन्तरराष्ट्रिय पाहुनासहित नेपालका सार्वजनिक तथा निजी क्षेत्रमा आवद्ध पर्यटनकर्मी तथा सरोकार भएका गरी ३० भन्दा बढी मुलुकबाट करिब ७०० प्रतिनिधिले सहभागिता जनाउने आयोजकले जनाएको छ ।
एचटीएमका संयोजक एवं पाटाका महासचिव नरेन्द्र देव भट्टले अन्तरराष्ट्रिय स्रोत बजारहरूमा सशक्त सम्बन्ध सञ्जाल स्थापित गराई नेपालको पर्यटन प्रवर्द्धनमा टेवा पु¥याउने उद्देश्यले पर्यटन मेला आयोजना गरिएको बताए । उनले यस पटक पाटा नेपाल च्याप्टरको ५० औँ वार्षिकोत्सव तथा अन्नपूर्ण हिमाल आरोहणको ७५ औँ वर्ष पूरा भएको अवसरमा हुने मार्टले विशेष महत्व राख्ने बताए।
सन् २०१७ देखि प्रत्येक वर्ष जुन महिनामा आयोजना हुदैँ आएको एचटीएम नेपालको प्रमुख अन्तरराष्ट्रिय पर्यटन व्यापार मेला हो । कार्यक्रमले विश्वव्यापी पर्यटन र आतिथ्य संस्थाहरू, पेशेवर र उद्योगका विविध क्षेत्रमा संलग्न व्यक्तिबीच अनुपम सम्पर्क सञ्जाल स्थापित गरी व्यावसायिक अवसर र मूल्यवान उद्योग अन्तर्दृष्टिलाई बढावा दिने विश्वास गरिएको महासचिव भट्टको भनाइ छ ।
पाटाका अध्यक्ष खेम लकाईले एचटीएमलाई विश्वस्तरीय पर्यटन कार्यक्रममा रूपान्तरण गर्न सबै साझेदारको समर्थन र सहकार्य आवश्यक रहेको भन्दै यसको माध्यमबाट पर्यटनको दिगो विकासका लागि निरन्तर प्रवर्द्धनात्मक कार्यलाई प्राथमिकता दिन सकिने विश्वास व्यक्त गरे।
नेपाललाई विश्वसामु ‘नेपालः हिमालयको प्रवेशद्वार’ साहसिक, सदावहार र सवल केन्द्रको रूपमा स्थापित गर्ने दृष्टिकोण र उद्देश्यका साथ यस मार्टले पर्यटन व्यवसाय प्रवर्द्धन, समसामयिक संवाद र प्रगतिशील सम्बन्ध तथा साझेदारी विस्तारमा उल्लेख्य योगदान पुर्याउदै आएको पाटा नेपालले जनाएको छ । यस संस्थाका प्रमुख कार्यकारी अधिकृत (सिइओ) सुरेशसिंह बुडालले यस वर्ष एचटीएमलाई ज्ञानमूलक संवाद र सम्मेलन गन्तव्य प्रवर्द्धन तथा क्रेता बिक्रेताबीच फलदायी व्यापार आदनप्रदान र सम्बन्ध विस्तारलाई थप प्रभावकारी बनाउने पक्षमा केन्द्रीत गरिएको जानकारी दिए ।
पत्रकार सम्मेलनमा नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) का संस्थागत निर्देशक अनिल घिमिरेले नेपालको पर्यटन प्रवर्द्धनमा महत्वपूर्ण भूमिका खेलेको निगम जहाज थपेर प्रभावकारी उडान सेवा, बजारीकरण र गन्तव्य विस्तारको रणनीतिमा अघि बढेको बताए ।
नेपाल पर्यटन बोर्डका वरिष्ठ प्रबन्धक सुमन घिमिरेले अन्तरराष्ट्रिय पर्यटन बजारमा स्थापित पर्यटन मेला जर्मनीका आइटिबी बर्लिन, लण्डनमा हुने वल्ड टाभल मार्केटजस्तै हिमालय मार्ट स्थापित पर्यटन मेलाको रूपमा प्रसिद्धि पाउने विश्वास व्यक्त गर्नुभयो । उहाँले यस मेलाले विश्व पर्यटन बजारमा नेपाल साहसिक पर्यटनमा विश्वकै नेतृत्वदायी रूपमा स्थापित गर्ने बताए ।
एचटएिममा सहभागी अन्तरराष्ट्रिय क्रेता, ब्लगर तथा मिडिया र प्रतिनिधिलाई परिचयात्मक भ्रमणका लागि ‘नेपालको गोल्डेन ट्रयाङ्गल’ र ‘काठमान्डु सराउन्डीङ्ग’ गरी दुई वटा कार्यक्रम प्रदान गरिएको छ । जसमा काठमाडौँ, चितवन र पोखरा रहेका छन् । एचटीएम सम्मेलन ‘माउन्टेन माइलस्टोन र मोमेन्टम’ विषयवस्तुअन्तर्गत आयोजना गरी एकीकृत प्रयास र अभ्यासका माध्यमबाट नेपालको पर्यटन उद्योगलाई अगाडि बढाउन मद्दत पुग्ने विश्वास लिइएको छ ।
सम्मेलनमा २० भन्दा बढी राष्ट्रिय र अन्तरराष्ट्रिय वक्ता र विचारकले आध्यात्मिक, साहसिक र लक्जरी पर्यटन, दिगो पर्यटन, समकालीन बजार प्रवृत्ति, वर्तमान मुद्दा र पर्यटनको लागि उदीयमान अवसरबारे साझा दृष्टिकोण प्रदान गर्नेछन् ।
यस्तै, बीटुबी कार्यक्रमअन्तर्गत यसवर्ष एचटीएमले संयुक्त राज्य अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिण अफ्रिका, रसिया तथा सिआइएस राष्ट्रबाट ६० भन्दा बढी क्रेता र नेपाल, भारत, भुटान, चीन, बङ्गलादेश र श्रीलङ्का गरी छ वटा गन्तव्य राष्ट्रबाट सहभागी हुने ६५ भन्दा बढी बिक्रेता सहभागी हुने पाटा नेपालले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

प्रभुले थप्यो एयरवस एच १२५ हेलिकोप्टर

सुनको मूल्य घट्यो

यस्तो छ आज विदेशी मुद्राको विनिमय दर

क्लासिक टेकले व्यवसायवर्ग लाइ सार्वजनिक गर्यो,1Gbps Enterprise – Pro इन्टरनेट …
नेतालाई गभर्नर बनाएको भन्दै विश्वनाथ पौडेलविरूद्ध सर्वोच्चमा रिट दर्ता, बुधबार …

कतिमा करोबार हुँदैछ आज विदेशी मुद्रा ?

जलविद्युत् आयोजना जोगाउन सडक संरचना परिवर्तन गरिने

प्रतिक्रिया