शुक्रबार १६ जेठ, २०८२
Friday, May 30, 2025

गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्नु असंसदीय र अराजनीतिक कदमः बर्तौला

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले कर्मचारीमाथि अख्तियारले गरेको अनुसन्धानको प्रक्रियासंग जोडेर गृहमन्त्रीको राजीनामा माग गर्दै संसद अवरुद्ध गर्नु असंसदीय र अराजनीतिक कदम भएको बताएका छन् ।
संसद बैठक स्थगित भएपछि मंगलबार संसद भवनमा सञ्चारकर्मीसंग कुरा गर्दै बर्तौलाले देशका धेरै कर्मचारीमाथि अनुसन्धान र कारवाही समेत भएको अवस्थामा कर्मचारीसंग जोडेर मन्त्रीलाई जवाफदेही बनाउने काम उचित नभएको समेत बताए ।

राजनीतिलाई प्रतिशोधको मसला बनाउने गरि बिपक्षी दलका केहि सांसदहरुले अभिव्यक्ति दिएको उनले बताए । बर्तौलाले राज्यका अंगहरुले स्वतन्त्र रुपमा काम गर्ने वातावरण बनेको भन्दै विभिन्न पदमा रहेका व्यक्तिमाथि अख्तियारले छानबिन गर्ने गरि प्रक्रिया अघि बढाएको धारणा राखे । उनले भिजिट भिसा प्रकरणमा मुछिएका कर्मचारीहरुलाई कारवाही गर्नुपर्नेमा एमाले दृढ रहे पनि अहिले नै हतारमा कसैलाई दोषी देखाउने काम उचित नभएको बताए । 
बर्तौलाले वर्तमान सरकार गठन भएपनि कानुनले काम गरेको र सुशासन प्रवर्द्धन भएकाले कुनै पनि प्रकरणमा जोसुकै दोषी देखिए उन्मुक्ति नपाउने स्पष्ट पारे।