बाल सुधार गृहमा देखिएका समस्या समाधान गर्न ध्यानाकर्षण

काठमाडौँ- राष्ट्रिय सभाको आजको बैठकमा बोल्ने सांसदहरूले बाल सुधार गृहमा देखिएका समस्या सम्बोधन गर्नुपर्ने तथा नजिकिँदो मनसुनलाई ध्यानमा राखी आवश्यक तयारी गर्नुपर्ने लगायत विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् ।
बैठकको शून्य समयमा बाल सुधार गृहमा देखिएका विभिन्न समस्या सम्बोधन गर्न सांसद कृष्णबहादुर रोकायाले माग गरे । उनले देशभर जम्मा नौ वटा सुधार गृह भएको र भएकामा पनि क्षमताभन्दा बढी रहेकाले विभिन्न समस्या देखिरहेको बताए ।
उनले भने, “कर्णाली प्रदेशमा त एउटा पनि बाल सुधार गृह छैन । अत्यधिक भीडभाड, पर्याप्त शौचालय, शिक्षा र परामर्शको अभाव तथा आवश्यक सुविधाबाट वञ्चित छन् । बालगृहमा देखिएका समस्याको सुधार गर्न आग्रह गर्छु ।”
सांसद घनश्याम रिजालले गत वर्ष बाढी पहिरोले वितण्डा निम्त्याएको र यो वर्ष पनि औसतभन्दा बढी पानी पर्ने आकलन गरिएकोमा उद्धार तथा राहत र आवश्यक तयारीका लागि सरकारलाई ध्यानाकर्षण गराए ।
सांसद पूजा चौधरीले रौतहटको विभिन्न नगरपालिकामा भारतबाट आएका नक्कली चिकित्सकहरूले अवैध र असुरक्षित शल्यक्रिया गरिरहेको पाइएको बताए। “असुरक्षित शल्यक्रियाले एक जना महिलाको ज्यान गुमेको छ । यस्ता गैरकानूनी गतिविधि रोक्न र कानुनी कारबाही गर्न सम्बन्धित निकायसँग माग गर्दछु ।”
सांसद रुकमीणी कोइरालाले संविधानमा सुनिश्चित गरेको मौलिक हकको कार्यान्वयन हुनुपर्नेमा जोड दिए सांसद विष्णुकुमारी सापकोटाले स्थानीय उत्पादन र बजारीकरणमा सरकारले ध्यान दिनुपर्ने बताए। उनले गाँजाको वैधानिक उत्पादन र बजारीकरण, लोकल कोदोको रक्सी ब्रान्डिङ गर्नेलगायत स्थानीय उत्पादनमा जोड दिनुपर्ने बताए ।
सांसद विष्णुदेवी पुडासैनीले महालेखा परीक्षकको प्रतिवेदनमा सबैभन्दा बढी बेरुजु स्थानीय तहमा देखिएकाले उक्त समस्या समाधान गर्न ध्यानाकर्षण गराए । त्यसैगरी सांसदहरू श्रीकृष्णप्रसाद अधिकारी, विष्णुबहादुर विश्वकर्माले भिजिट भिसा प्रकरणलगायत विषयमा छानबिनका लागि गृहमन्त्री रमेश लेखकले नैतिकताको आधारमा राजीनामा दिनुपर्ने माग गरे ।

युवाहरूलाई साथमा लिएर अघि बढ्छौँ : प्रचण्ड

राजनीतिलाई सङ्लो नपारेसम्म अन्य क्षेत्रमा सुधार गर्न सकिँदैन : बाबुराम भट्टराई

हेल्लो ! साम्बा एन्ड टिम विस यु अल द बेस्ट : प्रधानमन्त्री ओली

प्रधानमन्त्री ओलीसँग नेपालमा लगानीको सम्भावना र अवसरबारे मलेसियाका व्यवसायीको…

सामुदायिक विद्यालयको नतिजा खस्किनुको कारण खोज्नुपर्छ : लिङ्देन

गिरिजाप्रसाद कोइराला क्रान्ति र शान्तिका नेता: राष्ट्रपति पौडेल

कम्युनिष्टमा बढेको अन्तरविरोध कम गर्न आन्दोलनलाई एकताबद्ध गर्नुपर्छ’

प्रतिक्रिया