बुधबार २१ जेठ, २०८२
Wednesday, June 04, 2025

विकास र परिवर्तनले जनतामा आत्मविश्‍वास बढ्योः प्रधानमन्त्री ओली

प्रधानमन्त्री केपी शर्मा ओलीले विकास र परिवर्तनका लागि सरकारले गरेको प्रयासले जनतामा आत्मविश्वास पलाउँदै गएको बताएका छन् ।

बुधबार काभ्रेको धुलिखेल नगरपालिका–६ स्थित धुलिखेल अस्पतालको ‘ट्रमा एण्ड इमर्जेन्सी सेन्टर’ भवनको शिलान्यास गर्दै प्रधानमन्त्री ओलीले विकास र परिवर्तनका लागि आफूहरुको लगातारको प्रयासले नेपालमा केही हुन्छ र हुँदैछ भन्ने आशा जनतामा पलाएको बताएका हुन् ।

उहाँले केही नभएको ठाउँमा पनि विकास र परिवर्तन देखिएको उहाँले बताए । केही भएन भनेर गलत भाष्य सिर्जना गर्नेहरुले भएको विकास नदेखेको टिप्पणी गर्दै प्रधानमन्त्री ओलीले कुनै पनि अवस्थामा परिवर्तन ल्याउन एकै दिनमा सम्भव नहुने भएकाले यसका लागि इमानदार र लगातारको प्रयास आवश्यक रहेको जनाए ।

प्रधानमन्त्री ओलीले सरकारले निरोगी नेपालको उद्देश्य राखेर गरिरहेको काममा धुलिखेल अस्पतालले सहज र गुणस्तरीय सेवा दिएर आफ्नो ठाउँबाट योगदान दिने विश्वास पनि व्यक्त गरे ।

नेपाल सरकारको पहलमा धुलिखेल अस्पताल र जापान अन्तरराष्ट्रिय सहयोग एजेन्सी (जाइका) बीचको समझदारी अनुसार जापान सरकारको सहयोगमा सेन्टर निर्माण हुन लागेको हो । उक्त अस्पतालमा ट्रमा एण्ड इमर्जेन्सी सेन्टर (आन्तरिक अनुदान)को सुधार परियोजनाका लागि जापान सरकारले थप तीन अर्ब दुुई करोड ९६ लाख यान अनुदान दिनेछ ।

सगरमाथा संवादका क्रममा जापानका परराष्ट्र उपमन्त्री इक्युुना आकिकोको नेपालमा भ्रमणका क्रममा उक्त सम्झौतामा दुुई पक्षीय हस्ताक्षर भएको थियो ।