शुक्रबार १६ जेठ, २०८२
Friday, May 30, 2025

मुलुकको विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्छ : मुख्यमन्त्री कार्की

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मुलुकको विकास र समृद्धिका लागि सबै एकजुट हुनुपर्ने बताएका छन्। कोशी प्रदेश सरकार गणतन्त्र दिवस मूल समारोह समितिद्वारा आज आयोजित ‘संघीय लोकतान्त्रिक गणतन्त्रका उपलब्धि, अवसर, सम्भावना र चुनौती’ विषयक अन्तरक्रियामा उनले वर्तमान सरकारका साझेदार दलले गर्दा मुलुकमा राजनीतिक स्थिरता कायम भएको बताए ।

उनले अहिलेको राजनीतिक प्रणालीमाथि प्रश्न आउन नदिन सरकार जनताका आवश्यकता र चाहनामा केन्द्रित रहनुपर्नेमा जोड दिए। राजनीतिक मूल्य र मान्यता एवं सैद्धान्तिक आधार गुमाएका राजसंस्था कुनै पनि हालतमा फर्केर आउन नसक्ने उनको भनाइ छ । सरकार रोजगारी सिर्जना गर्न, उद्यमशीलताको विकास गर्न दत्तचित भएर काम गरिरहेको स्पष्ट पारे । 

मुख्यमन्त्री कार्कीले स्वरोजगारका निम्ति युवालाई बैंकमार्फत बिनाधितो क्रृण प्रवाह गर्ने योजना बनाएको स्पष्ट पार्दै कोशी प्रदेश सरकारले सम्पन्न गरेको लगानी सम्मेलनबाट राष्ट्रिय पुँजी निर्माण हुने, आर्थिक गतिविधि बढ्ने र रोजगारी सिर्जना हुने विश्वास व्यक्त गरे । 

आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले गणतन्त्रमा नागरिकको अधिकार सुनिश्चित भई अल्पसङ्ख्यक, सीमान्तकृत वर्गको अधिकार सुरक्षित भएको उल्लेख गरे। उनले संविधानप्रदत्त अधिकारलाई आम नागरिकको घरदैलोसम्म पुर्‍याउन प्रदेश संंरचनालाई सुदृढ बनाउँदै लैजानुपर्नेमा जोड दिए ।

सो कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टी (एमाले)का उप महासचिव प्रदीप ज्ञवालीले कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यपत्रमाथि संविधानसभा सदस्य एवं नेपाली काँग्रेसका नेता डा.मीनेन्द्र रिजाल र नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का नेता एवं संविधानसभा सदस्य हरिबोल गजुरेलले टिप्पणी गरेका थिए ।