गणतन्त्र दिवसमा उत्कृष्ट अङ्क ल्याउने विद्यार्थीलाई ल्यापटप उपहार
पाँचथर- हिलिहाङ गाउँपालिका–५ वडा कार्यालयले गत वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई)मा वडाबाट उत्कृष्ट अङ्क ल्याई उत्तीर्ण हुने विद्यार्थीलाई ल्यापटप उपहार दिएको छ ।
अठारौँ गणतन्त्र दिवसका अवसर पारेर वडा कार्यालयले बिहीबार सोही वडाको देवी योङहाङ स्मृति भवनमा विद्यार्थी प्रोत्साहन कार्यक्रम आयोजना गरी सर्वोत्कृष्ट अङ्क ल्याउने छात्रा वर्षा थुङ्गिम लिम्बूलाई ल्यापटप उपहार दिएको हो । यहाँको निलगिरि माध्यमिक विद्यालयकी छात्रा थुङ्गिमले तीन दशमलव ७५ जिपीए ल्याई एसइई उत्तीर्ण गरेकी थिइन् । छात्रा थुङ्गिमलाई गाउँपालिका अध्यक्ष समरबहादुर अधिकारी, उपाध्यक्ष सुमित्रा सेढाईँ तथा वडाध्यक्ष बिर्खबहादुर सुहाङले दोसल्ला र प्रशंसापत्रले सम्मान गरी ल्यापटप उपहार दिएका थिए । अन्य विद्यार्थीलाई अध्ययनमा प्रोत्साहित गर्न वडाका अगुवाहरूले उत्कृष्ट अङ्क ल्याउने छात्रालाई सम्मान गरेका थिए ।
वडाध्यक्ष सुहाङले सामुदायिक विद्यालयको खस्कँदो शैक्षिक गुणस्तर सुधार गर्ने, विद्यार्थी र अभिभावकलाई आकर्षित गर्ने तथा सर्वाधिक अङ्क ल्याई उत्तीर्ण विद्यार्थीलाई उच्च शिक्षा अध्ययनमा सघाउ पुर्याउने उद्देश्यले ल्यापटप वितरण गरिएको बताए । वडाले विद्यार्थी प्रोत्साहन कार्यक्रमलाई वार्षिक कार्यक्रममै समावेश गरेको तथा यसको निरन्तरताका लागि कार्यविधि तयार गरी लागू गरिने वडाध्यक्ष सुहाङको भनाइ छ ।
हिलिहाङ गाउँपालिकाका अध्यक्ष समरबहादुर अधिकारीले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर सुधारका लागि रचनात्मक कार्यक्रमलाई अगाडि बढाउनुपर्ने तथा अभिभावकहरू जिम्मेवार हुनुपर्ने अवस्था आएको बताए ।
“अभिभावकहरूले आफ्ना नानीहरूको पढाइप्रति चासो बढाउने होभने मात्र सामुदायिक विद्यालयको शैक्षिकस्तर उकास्न सकिन्छ”, अधिकारीले भने, “यस्तै रचनात्मक कार्यक्रमबाट अभिभावक र विद्यार्थीलाई जागरूक बनाउन गाउँपालिकाले प्रयास गर्ने छ ।” विषयगत शिक्षक नपाउने समस्याले पनि शैक्षिक गुणस्तर उकास्न कठिन भएको अध्यक्ष अधिकारीको भनाइ छ ।
गत वर्षको एसइईमा उक्त वडाको निलगिरि माध्यमिक विद्यालयबाट १९ तथा सरस्वती माध्यमिक विद्यालयबाट १४ विद्यार्थी एसइईमा सामेल भएका थिए । उत्कृष्ट अङ्क ल्याउने छात्रालाई रु ८० हजार मूल्यको ‘कोर आई फाइभ’ ल्यापटप उपहार दिइएको वडाध्यक्ष सुहाङले बताए ।
वडा कार्यालयले विद्यार्थीलाई प्रोत्साहित गर्न थालेकामा अभिभावकले खुसी व्यक्त गर्दै यो कार्यक्रमको निरन्तरताको माग गरे । गणतन्त्र दिवसको अवसर पारेर यस प्रकारका कार्यक्रम गर्नाले शासन व्यवस्थाप्रति जनताको अपनत्व वृद्धि हुने अपेक्षा गरिएको हिलिहाङ गाउँ कार्यपालिकाका सदस्य वीरेन्द्र मङ्ग्राती बताउँछन् । हिलिहाङ गाउँपालिकाका शिक्षा अधिकृत केशव तिम्सिनाले भविष्यसम्म प्रयोग हुने ल्यापटप उपहार दिएर विद्यार्थीलाई प्रोत्साहित गर्ने कार्यक्रम पालिकामा पहिलो भएको बताए ।

बाढीले डाइभर्सन बगाउँदा पूर्व–पश्चिम लोकमार्ग अवरुद्ध
कोशी राजमार्ग बाढीले बगायो, यातायात अवरुद्ध
माईखोलाको बाढी बस्ती पस्यो : सुगाबथानका २२ घर डुबानमा

ढकमक्क ‘सोना गुलाबी’

सीप सिकेर आत्मनिर्भरतातर्फ उन्मुख गोमा

व्यावसायिक पशुपालनलाई प्रोत्साहन गरी दैनिक दुई लाख दूध उत्पादन गर्ने सूर्योदयक…

‘मानवअधिकार संरक्षणमा सबैको दायित्व महत्त्वपूर्ण’

प्रतिक्रिया