बिहीबार १९ असार, २०८२
Thursday, July 03, 2025

सरकारले ल्याएको बजेट यथार्थपरक छ : अर्थमन्त्री पौडेल

उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले सरकारले ल्याएको बजेट यथार्थपरक रहेकाले पूर्णरुपमा कार्यान्वयन हुने बताएका छन् ।शुक्रबार सिंहदरबारमा पत्रकार सम्मेलन गर्दै मन्त्री पौडेलले तत्काल बजेट कार्यान्वयन प्रक्रिया सुरु गर्ने समेत बताए । बजेटको व्यवहारिक र वस्तुनिष्ठ कार्यान्वयन कार्ययोजना बनाउने कामका अर्थ मन्त्रालय लागिसकेको उनले बताए ।

उनले बजेटले आम्दानी खर्चको यथार्थपरक अनुमान गरिएको, पुँजीगत खर्चको विनियोजन बढाइएको, चालु खर्चलाई सीमाभित्र राखिएको र अन्तरसरकारी वित्त हस्तान्तरणमा वृद्धि गरिएको जानकारी दिए । बजेटमार्फत वैकल्पिक विकास वित्तको उपयोग गर्ने नीति लिइएको र सङ्‍घीय आयोजनाका लागि रु.३ करोडको मापदण्ड कार्यान्वयन गरिएको उनले बताए । पौडेलले प्रदेश र स्थानीय तहले सन्तुलित बजेट ल्याउनुपर्ने व्यवस्था गरिएको,वन क्षेत्रको जग्गा उपयोगमा सरलीकरण गरिएको, सामाजिक सुरक्षा खर्च र स्वास्थ्य बीमालाई थप व्यवस्थित गरिएको उल्लेख गरे ।

उनले बजेट कार्यान्वयनका लागि आयोजना व्यवस्थापनको क्षमता बढाउने र शीघ्र निर्णय र अन्तरनिकाय समन्वय गर्ने बताए । मन्त्री पौडेलले बजेट कार्यान्वयनबाट आर्थिक गतिविधि विस्तार हुने, निजी क्षेत्रको लगानी वृद्धि, रोजगारीको अवसर वृद्धिका साथै ६ प्रतिशतको आर्थिक वृद्धि हासिल हुने धारणा राखे ।