मंगलबार २० जेठ, २०८२
Tuesday, June 03, 2025

बार्सिलोनामा ‘सगरमाथा उत्सव’

७२औँ अन्तरराष्ट्रिय सगरमाथा दिवसको अवसरमा स्पेनमा विशेष कार्यक्रमका साथ ‘सगरमाथा उत्सव’ मनाइएको छ । स्पेनस्थित नेपाली दूतावास र नेपाल पर्यटन बोर्डको संयुक्त आयोजनामा विश्वको सर्वोच्च शिखर सगरमाथामा पहिलो पटक आरोहण गरेको दिनको स्मरण गर्दै शुक्रबार बार्सिलोनामा ‘सगरमाथा उत्सव’ मनाइएको हो ।

सन् १९५३ मे २९ तारिखका दिन तेन्जिङ नोर्गे शेर्पा र सर एडमन्ड हिलारीले पहिलो पटक सगरमाथाको चुचुरोमा पाइला टेकेका थिए । उक्त ऐतिहासिक दिनको स्मरण गर्दै स्पेनमा पनि सगरमाथा दिवस मनाइएको हो ।

सगरमाथा आरोही तथा आठ हजारभन्दा अग्ला हिमाल आरोहण गर्ने स्पेनी पर्वतारोहीलाई सम्मान गरिएको थियो । सन् १९७५ मा मनास्लु र पछि सगरमाथा आरोहण गरेर इतिहास रच्ने स्पेनी पर्वतारोही तथा भूगर्भविद् प्रोफेसर जेरोनिमो लोपेज मार्टिनेज, ‘एभरेस्ट ९३’ वृत्तचित्रका निर्देशक तथा पर्वतारोही जौमे अल्टाडिल क्लुआ, महिला पर्वतारोही मेरी पुइग रेबस्टेस र पर्वतारोही लुइस बेल्भिस आई डेल रियोलाई विशेष सम्मान गरिएको स्पेनस्थित नेपाली दूतावासले जनाएको छ ।

कार्यक्रममा सहभागी स्पेनी पर्वतारोहीहरूले नेपालसँगको आफ्नो पुरानो सम्बन्ध र हिमाल आरोहणको सुखद् पलको स्मरण गर्दै हिमाल चढ्नुभन्दा हिमालको महत्व बुझ्न जरुरी रहेको धारणा व्यक्त गरेका थिए । पर्वतारोहीहरूले जलवायु परिवर्तनका कारण देखापरेका असर र चुनौतीबारे चिन्ता व्यक्त गर्दै हिमाली क्षेत्रको संरक्षणमा जोड दिए ।

सगरमाथा गौरवको शिखर मात्र नभई विश्वकै साझा सम्पदा भएको उल्लेख गर्दै सगरमाथालगायतका हिमाली क्षेत्रको संरक्षण विश्व समुदायको साझा दायित्व र जिम्मेवारी रहेको धारणा व्यक्त गरेका थिए ।

स्पेनका लागि नेपाली राजदूत शनिल नेपालले दुई मुलुकबीचको सांस्कृतिक सम्बन्ध विस्तारका साथै नेपाललाई प्रमुख पर्यटकीय गन्तव्यका रूपमा प्रवद्र्धन गर्ने उद्देश्य अनुरुप सगरमाथा उत्सवको आयोजना गरेर सगरमाथा दिवस मनाइएको बताए ।

‘समुद्रदेखि सगरमाथासम्म’ भन्ने अवधारणा अनुरुप उत्सवले सगरमाथाको गौरवशाली इतिहासलाई उजागर गर्ने अवसर प्रदान गरेको उनले बताए । सगरमाथाले नेपाल र विश्वबीचको मित्रता जोड्ने पुलको रूपमा काम गरेको उल्लेख गर्दै राजदूत नेपालले नेपाल भ्रमणका लागि निमन्त्रणा दिइएको बताए । जलवायु परिवर्तनका कारण देखापरेका असर र चुनौतीको सामनाका लागि समुद्रको देश र हिमालको देशले बढी ध्यान दिनुपर्ने उनको धारणा थियोे ।

कार्यक्रममा सहभागी स्पेनी पर्वतारोहीहरुले हिमालसँग गहिरो सम्बन्ध रहेको भाव व्यक्त गर्दै नेपाललाई दोस्रो घरको रुपमा व्यक्त गरेको उनले बताए । उत्सवले नेपाल र स्पेनबीचको संस्कृति र मित्रताको सम्बन्ध अझ बलियो र प्रगाढ बनाउने अपेक्षा गरिएको राजदूत नेपालले बताए ।

त्यस अवसरमा नेपाल पर्यटन बोर्डका वरिष्ठ अधिकृत कुन्दन शर्माले नेपालको प्राकृतिक सौन्र्दर्यता, सांस्कृतिक विविधता, पर्यटनको सम्भावना, जलवायु परिवर्तनका असर, सगरमाथा लगायत हिम श्रृङ्खलाको आकर्षण र अवस्था लगायतका विषयमा जानकारी गराएका थिए । रासस