आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

प्रदेश २ मा आज माओवादी सरकारमा जाँदै

जनकपुरधाम- प्रदेश-२ सरकारमा नेकपा माओवादी केन्द्र पनि सहभागि हुने भएको छ । पछिल्लो सहमति अनुसार मन्त्रिपरिषद् विस्तारमा कांग्रेसपछि अब माओवादी केन्द्र पनि सरकारमा सहभागी हुन लागेको हो ।

मन्त्रालयको टुंगो नलागे पनि माओवादीबाट संसदीय दलका नेता भरतप्रसाद साह मन्त्री र रूबी कर्ण राज्यमन्त्री बन्‍दैछन् । मन्त्री बन्‍न लागेका नेता साहले इकागजसँग भने,'मन्त्रालयको टुंगो लागेको छैन, एक मन्त्रालय रिक्त गराई हामीलाई दिने सहमति भएको हो ।'

सो सहमति अनुसार आज दिउँसो ३ बजे शपथ ग्रहण कार्यक्रम तय गरिएको छ । जसपा यादव समूह कोटामा मुख्यमन्त्री लालबाबु राउतसहित आन्तरिक मामिला तथा सञ्‍चार मन्त्रालय, भूमि व्यवस्था, कृषि तथा सहकारी, अर्थ मन्त्रालय रहेको छ भने ठाकुर समूहका मन्त्री नवल किशोर साह र रामनरेश राय पनि पार्टीभित्र विवाद चुलिएपछि यादव समूहमै आएका छन् ।

जसपाभित्र विवाद भएपछि यादव समूहका मुख्यमन्त्री राउतले ठाकुर समूहका भौतिक पुर्वाधारमन्त्री जितेन्द्र सोनलसहित तीन राज्यमन्त्रीलाई हटाएका थिए । ठाकुर समूहका मन्त्रीलाई हटाएपछि भौतिक मन्त्रालयसहित विभिन्‍न मन्त्रालय फुटाएर कांग्रेसलाई भौतिक पूर्वाधार, खानेपानी तथा उर्जा र महिला तथा बालबालिका मन्त्रालय दिइएको थियो ।