बुधबार २१ जेठ, २०८२
Wednesday, June 04, 2025

गृहमन्त्रीको राजीनामा मागेर संसद अवरोध गर्नु लोकतन्त्र विपरीत होः प्रधानमन्त्री ओली

प्रधानमन्त्री एवं नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले गृहमन्त्रीको राजीनामा मागेर सदन अवरोध गर्नु लोकतन्त्र विपरीत रहेको बताएका छन् ।सोमबार संसद भवन नयाँ बानेश्वरमा बसेको एमाले संसदीय दलको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले अनावश्यक रुपमा गृहमन्त्रीको राजीनामा माग गरेर विपक्षीले सदन अवरोध गर्नु लोकतन्त्र विपरीत रहेको बताएका हुन् ।

प्रधानमन्त्री ओलीले मङ्गलबारदेखि संसदका नियमित गतिविधि सञ्चालन हुने दावी गर्नुभयो । संसदको गतिरोध अन्त्य गर्ने बिषयमा आफुले प्रमुख प्रतिपक्षी दलका नेता प्रचण्डसंग वार्ता र सम्वाद गर्न खोजे पनि जानीजानी सम्पर्कमा नआएको जिकिर गरे । गृहमन्त्रीमाथि कुनै उजुरी वा छानबिन नचलेको अवस्थामा राजीनामा दिनुपर्ने कुनै कारण नभएको उनले बताए । उनले सडकमा कुनै समूहले केही माग लिएर बस्दा पनि कुँदेर गएर समर्थन गर्ने र सदन पनि अवरोध गर्ने कामले प्रतिगमनलाई सहयोग पुग्ने उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले अर्थतन्त्र ओरालो लागेको तथा अराजकता र असन्तुष्टवादीहरुले विरोध गरिरहेका बेला बेग्लै चुनौतीको अवस्थामा बजेट आएको उल्लेख गर्दै उनले राजतन्त्र आजको बहसको विषय नै नभएको बताए । उनले आजको समाजमा जन्मिँदै राजा हुने वंश परम्परा र दास मानसिकताको वकालत गर्नु मुर्खता भएको तर्क गरे । कतिपय पक्षमा सत्ता छोड्नु परेकाले वैचैनी र कुण्ठा प्रकट भएको टिप्पणी गर्दै उनले सरकारको राम्रो काम नदेख्ने र असफलता गराउने खोज्ने ‘घण्टाकर्ण’ प्रवृत्ति देखिएको बताए ।

उनले खास परिस्थितिबाट देश अगाडि बढिरहेको गम्भीर मोडमा सरकारको बजेट प्रस्तुत भएकाले यसका पक्षमा तर्कपूर्णरुपमा आफ्ना कुरा राख्न सांसदहरुलाई निर्देशन दिए । साथै उनले संसदीय गतिविधिलाई महत्व दिन मन्त्रीहरुलाई समेत निर्देशन दिनुभयो ।