शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

कालीगण्डकी पदयात्राः आज पूजन र आरती, भोलि यात्रा

दमौली (तनहुँ)-  कालीगण्डकी नदीको अस्तित्व जोगाउन तनहुँको देवघाटदेखि कालीगण्डकी नदीको शिर दामोदरकुण्डसम्म हुने कालीगण्डकी पदयात्राको तयारी पूरा भएको छ ।  ‘प्रकृति, संस्कृति र सभ्यताको आराधना, कालीगण्डकी पदयात्रा एक आध्यात्मिक साधना’ भन्ने मुख्य सङ्कल्प र आदर्शमा सञ्चालन हुने यो पदयात्रा बिहीबारदेखि देवघाटबाट आरम्भ भएर चार हप्ताको पैदल यात्रापछि कालीगण्डकीको शिर दामोदर कुण्डमा पुगेर सम्पन्न हुनेछ ।

सोअनुसार आज साँझ वेणी सङ्गममा गण्डकी पुजन र विशेष आरती हुने पदयात्राका संयोजक तथा देवघाटस्थित महेश संस्कृत गुरुकुलमका प्राचार्य फणिन्द्रप्रसाद पौडेलले जानकारी दिनुभयो । पदयात्रा बिहीबार बिहान ७ः३० बजे देवघाटबाट सुरु हुने उहाँले जानकारी दिए ।

राष्ट्र, राष्ट्रियता, संस्कार, संस्कृति र मौलिक सनातनी नेपाली गौरवलाई देशभित्र तथा बाहिर परिचित गराउने र आत्मगौरवले सजिएको नेपाली स्वाभिमानको पुनर्जागरण गर्ने उद्देश्यले ऐतिहासिक कालीगण्डकी पदयात्रा गर्न लागिएको पौडेलले उल्लेख गर्नुभयो ।

राष्ट्रिय स्वाभिमान र सनातन नेपाली संस्कृतिको प्रवद्र्धनमा संस्थागतरुपमै लागिपरेको महेश सन्न्यास आश्रम देवघाटधामको सङ्कल्प र आह्वानमा यो पदयात्रा सञ्चालन हुन लागेको संयोजक पौडेलले बताउनुभयो । 

उक्त पदयात्रामा महेश सन्न्यास आश्रमका सन्त मधुसुदनानन्द गिरी र रमणानन्द गिरीका साथमा गलेश्वर आश्रम, हरिहर सन्न्यास आश्रमका सन्तहरुको उपस्थिति रहनेछ भने नेपालका प्रतिष्ठित सबै मठ मन्दिरका प्रतिनिधि र भारतका विभिन्न मठ तथा आश्रमबाट आमन्त्रित साधकको पनि उल्लेख्य सहभागिता रहने छ । 

देवघाटदेखि दामोदरकुण्डसम्मको उक्त पदयात्रा २५ दिनको रहनेछ । तराईदेखि पहाड हुँदै हिमालसम्मको पदयात्राको दूरी ४३१ किलोमिटर रहेको छ । महेश सन्न्यास आश्रमका वर्तमान पीठाधीश युवासन्त स्वामी रमणानन्द गिरीजी महाराजको मौलिक नेपाली स्वाभिमान, संस्कार र सभ्यताप्रतिको सम्मान, समर्पण तथा प्रवद्र्धन गर्ने दृढ लगाव र विश्वासमा उक्त पदयात्रा सञ्चालन गर्न लागिएको पौडेलले बताउनुभयो ।

कालीगण्डकी संसारकै ठूलो हिमशृङ्खलाबाट उत्पन्न भएर नेपालको मध्यभागलाई सिञ्चन गर्दै बग्ने संसारकै पवित्रतम देवनदी हो । यसका तटवर्ती क्षेत्रहरुमा हजारौँ वर्षदेखि मानवीय अस्तित्व संरक्षित रहेको छ । त्यसका कारण कालीगण्डकीका किनारमा अनेकौं जीवन, संस्कृति र सभ्यता विकसित भएका छन् । 

विश्वमा देवताको प्रत्यक्ष स्वरुप मानिने शालिग्राम यसै नदीमा मात्र उपलब्ध हुने भएकाले पुराण वाङ्मयले कालीगण्डकीलाई देवनदीका रुपमा वर्णन गरेका छन् । यसै तथ्यलाई अवलम्बन गरेर हजारौं तपस्वी ऋषिमुनिले गण्डकीका पवित्र किनारलाई विचार र ज्ञानसाधनाको केन्द्रका रुपमा प्रयोग गर्दै आएका छन् । धार्मिक, पौराणिक र आध्यात्मिक ऊर्जाका अतिरिक्त अनुपम प्राकृतिक सौन्दर्य, जैविक विविधता तथा पर्वतीय जनजीवनको जीवन्त सम्पदाका रुपमासमेत गण्डकीको सेरोफेरो प्रसिद्ध मानिन्छ । साथमा यस क्षेत्रले सनातनको आस्था र विश्वासमा अडिएको नेपाली जनजीवन, सामाजिक संरचना र अर्थतन्त्रलाई गतिशील बनाउन सक्ने पर्यटकीय अथाह सम्भावना बोकेको छ ।