शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

आरिफको शानदार ब्याटिङ, नेपालको शानदार जित

काठमाडौँ- आइसिसी विश्वकप लिग-२ अन्तर्गत आज भएको खेलमा नेपाल विजयी भएको छ ।

स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डसलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो  । नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा गर्‍यो ।

नेपालको जितमा आरिफ शेखले महत्वपूर्ण अर्धशतक बनाए । उनले ९९ बलमा सात चौका र दुई छक्काको सहयोगमा ७८ रनमा आउट भए । 

यसैगरी, नेपाली टोलीका उपकप्तान दीपेन्द्र सिंह ऐरीले ५१ बलमा तीन चौकाको सहयोगमा ‘नट आउट’ ३८ रन बनाए । पाँचौँ विकेटका लागि आरिफ र दीपेन्द्रले ८९ रनको महत्वपूर्ण साझेदारी गरे ।

ओपनर कुशल भुर्तेलले ४२ बलमा तीन चौकाको सहयोगमा २५ रन जोडे । कप्तान रोहित पौडेल ३९ बलमा एक चौकाको सहयोगमा २३ रनमा आउट भए । अर्का ओपनर आसिफ शेखले २२ बलमा तीन चौका प्रहार गर्दै १९ रन बनाए । भीम सार्की २६ बलमा एक चौकाको सहयोगमा ११ रनमा आउट भए ।

नेदरल्यान्डसका लागि माइकल लेभिटले दुई विकेट लिए भने भिभियन किंग्मा र पल भान मेकरेनले समान एक÷एक विकेट लिए । 

त्यसअघि टस जितेर पहिला ब्याटिङ रोजेको नेदरल्यान्डस ४९ दशमलव एक ओभरमा २२५ रनको योगफल बनाएको थियो । नेदरल्यान्ड्सका लागि नोहा कोर्सले ५५ बलमा पाँच चौकाको सहयोगमा सर्वाधिक ४८ रन बनाए ।

यसैगरी,  कप्तान स्कट एडवार्डसले ७१ बलमा चार चौकाको सहयोगमा सर्वाधिक ४६ रन जोडे । विक्रमजित सिंहलाई ३८ रन बनाए । ज्याक लायन ३४ बलमा २७ रन बनाएर आउट भए ।

नेपालका लागि सोमपाल कामीले तीन विकेट लिए भने करण केसी, ललित राजवंशी र सन्दीप लामिछानेले समान दुई–दुई  विकेट लिए ।

यो जितसँगै  नेपाल १४ खेलमा १० अङ्कका साथ लिगको सातौँ स्थानमा छ । पराजित  नेदरल्यान्डस २१ खेलमा २६ अङ्कसहित अङ्क तालिकाको  दोस्रो स्थानमा यथावत् छ ।