शुक्रबार २३ जेठ, २०८२
Friday, June 06, 2025

निजामती कर्मचारी संगठनले संघीय निजामती ऐन जारी नभए आन्दोलन गर्ने (भिडियो)

काठमाडौँ- नेपाल निजामती कर्मचारी संगठनले आफ्ना माग बमोजिम संघीय निजामती ऐन जारी नभए चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको छ । हालै काठमाडौँमा सम्पन्न दोश्रो केन्द्रीय कार्यसमिति बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार पत्रकार सम्मेलन गर्दै संगठनले कर्मचारी तथा ट्रेड युनियनमैत्री ऐन जारी हुन नसके चरणबद्ध आन्दोलन गर्ने निर्णय गरेको हो ।

बैठकले तीनै तहमा कार्यरत कर्मचारीहरुलाई मार्ग निर्देशन गर्ने मूल कानूनको रुपमा रहेको संघीय निजामती सेवा एैन जारी गर्न सरकारले ढिलासुस्ती गरेको भन्दै ध्यानाकर्षण गराउने निर्णय गरिएको संगठनका महासचिव रामचन्द्र अधिकारीले जानकारी दिए ।

उनले तीनै तहका कर्मचारीलाई निजामती कर्मचारीको परिभाषामा समावेश गरी कर्मचारी तथा ट्रेड युनियनमैत्री ऐन जारी गर्न बिशेष पहल गर्ने बताए ।

त्यस्तै संगठनले कार्यालय प्रमुख बाहेक शाखा अधिकृत वा आठौ तहसम्मका कर्मचारीहरु सदस्य हुन पाउने गरी सामूहिक सौदावाजी सहितको राष्ट्रियस्तरका ट्रेड युनियन र आधिकारिक ट्रेड युनियनको व्यवस्था हुनुपर्ने माग रहेको महासचिव अधिकारीले बताए । 

संगठनले संघीय निजामती सेवा ऐन जारी भएपछि संघीय कानुन बमोजिम संघ, प्रदेश र स्थानीय तहमा समायोजन भएका कर्मचारीहरूलाई एक पटकका लागि समयोजनको लागि छनौटको अवसर प्रदान गर्नुपर्ने, योग्यता पुगेका कर्मचारीलाई श्रेणी वृद्धि गरी तह मिलान गर्नु पर्ने, अस्थायी करारमा काम गरेका कर्मचारीलाई एकपटक उमेरको हद नलाग्ने गरी सिमित प्रतियोगितावाट स्थायी गर्नुपर्ने लगाएतका माग समेत अघि सारेको छ ।