आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

हुलाक सेवालाई आधुनिकीकरण गर्नु आवश्यकः सञ्चारमन्त्री गुरुङ

मोरङ- सञ्चार तथा सूचना प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरूङले हुलाक सेवाको आधुनिकीकरण जरुरी भएको बताएका छन् ।

हुलाक सेवा विभागद्वारा शनिबार विराटनगरमा आयोजना गरेको हुलाक सेवा विभागको पुनसंंरचना विषयक अन्तरक्रियामा उहाँले राणाशासनमा स्थापना भएको हुलाक सेवाको आधुनिकीकरण गरी सेवा प्रवाह राम्रो बनाउनुपर्नेमा जोड दिए ।     

मन्त्री गुरुङले भने, “बदलिँदो परिवेशअनुसार संस्था चल्नुपर्छ, हुलाकलाई जनताको सेवामा प्रयोग गर्नुपर्छ, सेवासँगै व्यापार गर्न जरुरी छ ।” उहाँले हुलाक सेवालाई व्यवस्थित गर्न वार्षिक क्यालेन्डरअनुसार काम गर्न सुझाव समेत दिए । उनले हुलाक सेवालाई प्रविधिमैत्री बनाउन सरकारले सहयोग गर्ने समेत उल्लेख गरे ।

मन्त्री गुरुङले हुलाकलाई विश्वसनीय बनाउनुपर्नेमा जोड दिँदै  दु्रत गति कुरियर सेवा विश्वका १९३ वटै देशमा पुर्‍याउन आवश्यक रहेको बताए । मन्त्री गुरुङले इकमर्शका माध्यमबाट जनतासेवा दिनमा ध्यान केन्द्रित राख्नुपर्ने सुझाव दिँदै हुलाकले व्यवसायका विस्तार गरी आत्मनिर्भर हुनुपर्ने टिप्पणी गरे ।

सञ्चार मन्त्रालयका सचिव राधिका अर्यालले हुलाक सेवालाई विविधिकरण गरी व्यवसायीकरण गर्नु जरुरी रहेको धारणा राखे । उनले हुलाक सेवाको पुनःसंरचना आवश्यक भएको बताए । 

कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले हुलाक सेवालाई नयाँ उचाइमा पुर्‍याउनु आवश्यक भएको बताउँदै यसलाई व्यवसायीकरण गरी आत्मनिर्भर बनाउनु पर्ने आवश्यकता औँल्याए । 

विभागकी महानिर्देशक मनमाया भट्टराई पङ्गेनी, जिल्ला समन्वय समिति मोरङका प्रमुख अजम्वजर राईलगायतले हुलाक सेवालाई भरपर्दो र विश्वसनीय र व्यापारमा विविधिकरण गर्न पुनःसंरचना जरुरी रहेको सुझाव दिए ।

कार्यक्रममा प्रदेशका विभिन्न हुलाक कार्यालय, विभिन्न संगठनका प्रतिनिधिहरुको सहभागिता थियो ।