आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

बाम्का बजार आगलागी : राहत वितरण गर्न बुढीगङ्गानगर प्रमुख बानियाँको संयोजकत्वमा समिति गठन

बाजुरा- बुढीगङ्गा नगरपालिकाले बाम्का बजारका आगलागीपीडितलाई राहत तथा पुनःस्थापना गर्न एकद्वार प्रणाली अपनाउने भएको छ ।

गत शुक्रबार नवदुर्गा होटलमा खाना पकाउन राखिएको सिलिण्डरबाट ग्यास चुहावट भएर आगलागी हुँदा ३१ पसल पूर्ण रूपमा क्षति भएको छ भने सात पसलमा आंशिक क्षति भएको प्रारम्भिक अनुमान छ । आगलागीबाट बजार नै ध्वस्त हुँदा करिब रु १५ करोडभन्दा  बढी क्षति भएको बताइएको छ । 

राहत वितरणका लागि बुढीगङ्गा नगरपालिकाका प्रमुख रामबहादुर बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन समेत गरिएको छ । 

शनिबार बुढीगङ्गा नगरपालिका र त्रिवेणी नगरपालिकाको संयुक्त बैठकले अग्निपीडितलाई राहत तथा पुनःस्थापनाका लागि एकद्धार प्रणालीमार्फत वितरण तथा पुनःस्थापना गर्न बुढीगङ्गा नगर प्रमुख बानियाँको संयोजकत्वमा ११ सदस्यीय समिति गठन गरिएको वडा नं ६ का वडाध्यक्ष हेमराज जैशीले जानकारी दिए ।

उनका अनुसार समितिमा त्रिवेणी नगर प्रमुख कर्णबहादुर थापा, उपप्रमुख कमला जैशी (न्यौपान), बुढीगङ्गा नगरपालिकाका उपप्रमुख माया खड्का (कुँवर), लगायत छन् । दुवै नगरपालिकाको संयुक्त बैठकले आगलागीपीडितलाई उचित राहत र पुनःस्थापनाका लागि स्थानीय तह, सङ्घ, प्रदेश र सङ्घसंस्थालाई आह्वान गर्ने निर्णय गरिएको त्रिवेणीका नगरप्रमुख थापाले बताए ।