कालीगण्डकी करिडोरः हर्मिचौर-बलेवा खण्डमा कालोपत्र

ढोरपाटन (बागलुङ)- राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरको हर्मिचौर-बलेवा खण्ड कालोपत्र गरिएको छ । गुल्मीको हर्मीचौरबाट बागलुङको बलेवासम्म ४४ दशमलव ४८ किलोमिटर सडक कालोपत्र गरिएको हो ।
तीन वर्षमा सक्नेगरी कालिका कन्स्ट्रक्सनले विसं २०७९ मङ्सिर २६ गते निर्माणको जिम्मा पाएको थियो । निर्धारित म्याद सकिन छ महिना अगावै कालोपत्र सम्पन्न भएको निर्माण कम्पनीले जनाएको छ ।
बागलुङ खण्डमा पालुङखोलाबाट बेलावासम्मको २४ दशमलव ४८ किमी र गुल्मी खण्डमा हर्मिचौरबाट पालुङखोलासम्मको २० किमी कालोपत्रका लागि कालिका कन्स्ट्रक्सनले तीन अर्ब ३३ करोडमा निर्माणको जिम्मा पाएको थियो । निर्माण कम्पनीले काम सम्पन्न गरे पनि सबै भुक्तानी भने नभएको जनाएको छ ।
छ महिना अगाडि काम सकेपछि निर्माण कम्पनीलाई जैमिनी नगरपालिकाले सम्मान गरेको छ । कतिपय कम्पनीले ढिलासुस्ती गर्दा योजनाहरू अलपत्र पर्छन् भन्ने नकरात्मक धारणाको विकास भइरहेको सन्दर्भमा कालिका कन्स्ट्रक्सनले समय अगावै काम सकेपछि नगरपालिकाले सम्मान गरेको हो । छोटो समयमा करिडोर कालोपत्र भएपछि स्थानीय उत्साहित भएका छन् ।
कालिका कन्स्ट्रक्सनका प्रतिनिधि महेश सुवेदीले यस खण्डमा केही अवरोध नहुँदा समयमा काम सम्पन्न गर्न सफल भएको बताए । हर्मिचारी–बलेवा खण्डमा पर्ने गुल्मीको कालीगण्डकी गाउँपालिका, बागलुङको जैमिनी तथा बागलुङ नगरपालिकाका जनप्रतिनिधि र स्थानीयले सकरात्मक भूमिका निर्वाह गरी समन्वय गरेकाले समय अगावै काम सम्पन्न भएको उनको भनाइ छ ।
“मैले यो सडकमा काम गर्नका लागि कालीगण्डकी करिडोर कार्यालय पाल्पासँग सम्झौता गरेको भोलिपल्टै आएर सडकको अवस्था हेरेको थिएँ, यहाँको अवस्था देख्दा मैले समय अगावै काम सक्छु भन्ने लागेको थियो”, सुवेदीले भने, “आयोजना प्रमुख र जैमिनीका जनप्रतिनिधिलाई सोही बेला समन्वयका लागि आग्रह गर्दै समयमै काम सक्ने प्रतिबद्धता गरेको थिएँ । सोही अनुसार काम गर्ने तालिका बनाएर कार्यान्वयन गरेको हुँ ।”
सडक कालोपत्र भएपछि भारतीयसहित आन्तरिक पर्यटकलाई मुक्तिनाथ पुग्न सहज हुनुका साथै ग्रामीण क्षेत्रमा उत्पादन भएका वस्तु बजारीकरणमा टेवा पुग्ने जैमिनी नगरपालिकाका उपप्रमुख हरिहर शर्माले बताए । पछिल्लो समय जैमिनीबाट बसाइँसराइ गरेर तराई झर्नेको लर्को चलिरहेका बेला करिडोर कालोपत्र भएपछि गाउँमा रोकिने सम्भावना बढेको उनको भनाइ छ ।
करिडोरले बागलुङसहित आसपासका क्षेत्रमा पर्यटन, शिक्षा, स्वास्थ्य, व्यापारलगायत क्षेत्रमा सम्भावना बोकेर आएको शर्माले बताए । “करिडोरले दक्षिण बागलुङलाई सिधा व्यापारिक केन्द्रसँग जोडेको छ । भारत र चीनसँग पनि जोडिएका छौँ । अब यहाँका नागरिक बसाइँसराइ गरेर अन्त जाने होइन, आफ्नै गाउँठाउँमा उद्यमी बन्नुपर्छ”, उनले भने, “करिडोर हाम्रा लागि अवसर बनेर आएको छ, अवसरलाई सही सदुपयोग गर्नेतर्फ सबै एकजुट भएर लाग्नुपर्छ ।”
जैमिनी–१ का स्थानीय तिलकबहादुर थापा मगरले करिडोरले यहाँका नागरिकको जीवनस्तरमा परिवर्तन ल्याउने विश्वास व्यक्त गरे । पहिले बुटवल, भैरहवालगायत स्थानमा पुग्न पोखरा, स्याङ्जा हुँदै महँगो भाडा तिरेर जाने गरेको भन्दै अब जैमिनीबाट सिधैँ चार घण्टामा पुग्न सकिने उनले बताए । गत वर्षसम्म ढुवानी महँगो हुँदा दैनिक उपभोग्य सामानलाई बढी मूल्य तिरेर उपभोग गर्नुपरेको भन्दै अब सहज हुने उनको भनाइ छ ।
कालीगण्डकीको करिडोरको बागलुङ खण्डमा कूल ३४ किलोमिटर पर्दछ । जसमध्ये जैमिनी नगरपालिकामा १९ दशमलव पाँच र बागलुङ नगरपालिकामा १४ दशमलव पाँच किमी पर्दछ । बलेवाबाट मालढुङ्गासम्मको १० किमी भने कालोपत्र गर्न बाँकी छ । त्रिदेशीय सडकका रूपमा रहेको करिडोर आयोजना १४ वर्ष अगाडि सुरु भएको थियो ।
नवलपुरको गैँडाकोटबाट कोराला नाकासम्म चार सय ९५ किमी रहेको करिडोर बागलुङको मालढुङ्गा दुई सय ४० किमी लामो छ । यसले मुस्ताङ, म्याग्दी, बागलुङ, पर्वतलगायत जिल्लाबाट बुटवल, भैरहवा र भारतसम्म पुग्ने यात्रासमेत छोट्याएको छ । रासस

ठेक्का सम्झौताको सात महिना अगावै पुल निर्माण

कास्की र पर्वत जोड्ने मोटरेबल पुल नौ वर्षसम्म अधुरै

पोखरा-मुग्लिन सडकको पश्चिमतर्फ ४३ प्रतिशत भौतिक प्रगति

कालोपत्रको माग गर्दै सडकमै वडा कार्यालय सञ्चालन

माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँचमार्ग निर्माण सुरु
तीन वर्षदेखि धुलिखेल–खावा खण्डमा यात्रा गर्न सास्ती
धुलिखेल–खावा सडक खण्डको ठेक्का रद्द

प्रतिक्रिया