मलेसियामा बस दुर्घटना, अधिकांश विद्यार्थीसहित १५ जनाको मृत्यु

क्वालालम्पुर- विश्वविद्यालयका विद्यार्थीहरूलाई उनीहरूको क्याम्पसमा फर्काउँदै गरेको बस सोमबार उत्तरी मलेसियामा एउटा मिनिभ्यानमा ठोक्किँदा कम्तीमा १५ जनाको मृत्यु भएको प्रहरी र उद्धार सेवाहरूले बताएका छन् ।
थाई सीमा नजिकैको व्यस्त पूर्व–पश्चिम राजमार्गमा गेरिक सहर नजिकै १३ जनाको घटनास्थलमै र दुई जनाको अस्पतालमा मृत्यु भएको थियो ।
मलेसियाको खतरनाक सडकमा एक दशकभन्दा बढी समयमा भएको यो सबैभन्दा घातक दुर्घटना हो ।
“बसले नियन्त्रण गुमाएको र पछाडिबाट मिनिभ्यानलाई ठोकेको जस्तो देखिन्थ्यो”, पेराक राज्य प्रहरी प्रमुख हिशाम नोर्दिनले भने ।
अग्नि र उद्धार विभागले खिचेका घटनास्थलका तस्बिरहरूले देखाएअनुसार हरियो बस दाहिने छेउमा पल्टिएको थियो र पछाडिको भागको आवरण भाँचिएको थियो भने रातो मिनिभ्यान खाडलमा खसेको थियो र यसका झ्यालहरू फुटेका थिए ।
“केही पीडित आफैँ बाहिर निस्कन सफल भए, केही पीडित बाहिर फ्याँकिए भने अन्यहरू अझै बसमा फँसेका थिए”, पेराक राज्य विपद् व्यवस्थापन प्राधिकरणले एक विज्ञप्तिमा भन्यो ।
उद्धारकर्ताहरूले बसबाट मानिसहरूलाई निकाल्न हाइड्रोलिक कटर प्रयोग गरेका थिए ।
मृत्यु हुनेहरूमा सुल्तान इद्रीस शिक्षा विश्वविद्यालयका १४ विद्यार्थी थिए भने अन्तिम पीडित बस परिचारक थिए ।
अन्य ३३ जना घाइते भएका छन् । तीमध्ये सात जनालाई गम्भीर अवस्थामा अस्पताल लगिएको छ ।
अधिकांश पीडित २१ देखि २३ वर्षका थिए । उनीहरू उत्तरपूर्वी मलेसियाको जेर्तेह सहरबाट यात्रा गरिरहेका थिए । दुर्घटना स्थानीय समयानुसार बिहान १:०० बजेपछि भएको थियो । (एएफपी)

अन्तरिक्षमा आज जाँदैछ 'जल भालु', जाे सहन्छ आणविक बमदेखि -२७३ डिग्री तापक्रम

इरानमा कुकुरलाई पार्क र सडकमा हिँडाउन प्रतिबन्ध, २० सहरमा नियम लागू

चीनले स्थापना गर्यो सुनामी एडभाइजरी सेन्टर

इजरायलद्वारा गाजामा सहायता प्रवाहमा अवरुद्ध

महाराष्ट्रमा रेलबाट खस्दा चारको मृत्यु, नौ घाइते
चीनमा सवारीसाधनको बिक्रीमा उत्साहजनक वृद्धि

जापानको आर्थिक नाफा १५ अर्ब ६० करोड डलर पुग्यो

प्रतिक्रिया