आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

भोलि निर्वाचन आयोगमा समूहका सबै कार्यकारिणी समिति सदस्य र सांसद उपस्थित हुने

संसद्‍मा सत्ता पक्षको रोमा बस्‍ने

काठमाडौँ – जनता समाजवादी पार्टी(जसपा)को संघीय परिषद् अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादव समूह भोलिदेखि सुरु हुने संघीय संसद्को अधिवेशनमा सत्ता पक्षको रोमा बस्‍ने निर्णय गरेको छ । शनिबार पार्टी कार्यालय बालकुमारीमा बसेको संसदीय दलको बैठकले पार्टी सत्ता गठबन्धनमा रहेको र सरकारमा जाने तयारीमा रहेकाले सत्ता पक्षको रोमा बस्ने निर्णय गरेको हो ।  

पार्टी नेता महेन्द्र राययादवले सत्ता पक्षको रोमा बस्‍ने भन्दै त्यसको व्यवस्था गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेको बताए । ‘सरकारलाई समर्थन गरेको र सहभागी हुने तयारीमा रहेकाले सत्ता पक्षको रोमा बस्‍ने व्यवस्था गर्न सभामुखलाई आग्रह गर्ने निर्णय गरेका छौं,’ नेता राययादवले इकागजसँग भने । 

त्यस्तै बैठकले पार्टीबारे निर्वाचन आयोगमा भोलिदेखि हुन लागेको सुनुवाइमा आफ्नो समूहका सबै कार्यकारिणी समिति र सांसदहरू उपस्थित हुने निर्णय पनि बैठकले गरेको छ । ‘पार्टीको आधिकारिकताबारे भोलिदेखि निर्वाचन आयोगमा हुन लागेको सुनुवाइमा हाम्रो पक्षका सबै कार्यकारिणी समिति सदस्य र सांसद उपस्थिति हुने निर्णय भएको छ,’ नेता राययादवले भने । 

त्यस्तै सरकारमा जतिसक्यो छिटो जाने र जनताको सरोकार र समस्या जोडिएका मन्त्रालय प्रधानमन्त्रीसँग माग्न अधयक्षलाई नेताहरूले बैठकमा सुझाव दिएका छन् । ‘हामी यथाशिघ्र सरकारमा जाने तयारीमा छौं । निर्वाचन आयोगबाट टुंगिदावित्तिकै सरकारमा जान्छौं,’ राययादवले भने ।
 
जसपा सत्ता समीकरणको विषयलाई लिएर दुई टुक्रा भएको छ । यादव समूहले अहिलेको सत्ता गठबन्धनलाई समर्थन गरेको छ भने अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो समूहले एमालेसँग सहकार्य गरिरहेको छ । पार्टीलाई दुई टुक्रा बनाउने विषयमा निर्वाचन आयोगमा आइतबारदेखि सुनुवाइ हुँदैछ ।
 
दल बैठकमा यसअघि ठाकुर समूहमा खुलेका प्रमोद साह, अमृता अग्रहरी, रानी मण्डल र रुही नाज सहभागी भएका छन् । भने सांसदद्वय राजकिशोर यादव र नरमाया ढकालले आउन सहमति जनाएका एक सदस्यले बताए । ‘आज घरायसी काममा रहेकाले दलको बैठकमा सहभागी हुन नपाएको र आगामी बैठकमा आउने प्रतिबद्धता जनाउनु भएको छ,’ ती सदस्यले इकागजसँग भने । 

३२ सदस्यीय संसदीय दलमा यसअघि ठाकुर समूहमा २० र यादव समूहमा १२ सांसद थिए । आजको बैठकमा चार जना सहभागी भएका र दुई जनाले प्रतिबद्धता जनाएकाले यादव समूहमा १८ जना पुगेका छन् भने ठाकुर समूहमा सांसद संख्या घटेर १४ जनामा आइपुगेको छ । 

यसअघि यादव समूहमा यादव, डा. भट्टराईसहित राजेन्द्र श्रेष्ठ, रेणु यादव इस्तेह्याक राई, प्रदीप यादव, रामबाबु यादव, रामसहाय यादव, डा. सूर्यनारायण यादव, डा. सुरेन्द्र यादव, लिला सिटौला र महेन्द्र राययादव थिए ।