बिहीबार २९ जेठ, २०८२
Thursday, June 12, 2025

हतार गरेर काम गर्ने पक्षमा भने म छैन : अभिनेता राजेश हमाल

काठमाडौँ- अभिनेता राजेश हमालले वर्षमा एउटा चलचित्रमा काम गरी कलाकारिता क्षेत्रमा नै रमाउने बताएका छन् । सोमबार साँझ ६१औँ जन्मदिनको अवसरमा ‘युगदेखि युगसम्म’ पुस्तक अनावरण कार्यक्रममा अभिनेता हमालले वर्षमा एउटा चलचित्र लिएर दर्शकसम्म पुगी यसै क्षेत्रमा रमाउने चाहना रहेको बताए ।।  
 
उनले भने , “केही वर्ष म चलचित्रबाट हराएँ । किनकि मैले खोजेको जस्तो विषयवस्तु र निर्माण समूहसँग जोडिन पाएको थिइन्, तर अब वर्षमा एउटा चलचित्रमा काम गर्ने सोच बनाएको छु । म जति समय काम गर्छु, एउटा चलचित्र बर्सेनि दर्शकसम्म पुगोस् भन्ने चाहना छ, यद्यपि त्यसका लागि राम्रो विषयवस्तु चाहिन्छ ।”
 
उनले आउँदो वर्ष पुनः नयाँ चलचित्र लिएर दर्शकसमक्ष पुग्ने बताए । “अहिले प्रदर्शनरत चलचित्र ‘नरसिंहा अवतार’ का क्रममा दर्शकसँग भेटघाट गर्दा पनि उहाँहरूको इच्छा चलचित्रबाट गायव नभइदिएहुन्थ्यो भन्ने पाएँ । सोही कारण पनि नयाँ चलचित्रको तयारी गरिरहेको छु, तर हतार गरेर काम गर्ने पक्षमा भने म छैन”, अभिनेता हमालले भने ।
 पुस्तकका विषयमा जानकारी दिँदै उहाँले ३५ वर्ष लामो कलाकारिता यात्रामा सार्वजनिक नभएको व्यक्तिगत जीवन, परिवार एवं समाज र अन्य विभिन्न विषयलाई समेटिएको जानकारी दिए । उनले आठ वर्षपछि अभिनय गरेका चलचित्र ‘नरसिंहा अवतार’ यही जेठ ९ गतेदेखि नेपालभर प्रदर्शन भइरहेको छ ।
–––