आइतबार २५ जेठ, २०८२
Sunday, June 08, 2025

कांग्रेसले घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्ने

काठमाडौँ– नेपाली कांग्रेसले पार्टी केन्द्रीय सदस्य तथा क्रियाशील छानबिन समिति सदस्य श्यामकुमार घिमिरेमाथि आक्रमण गर्नेलाई अनुशासनको कारबाही गर्ने भएको छ ।

प्रधानमन्त्रीसमेत रहेका पार्टी सभापति शेरबहादुर देउवाले नेता रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पदाधिकारीहरूसँगको परामर्शपछि २४ घण्टे स्पष्टीकरण सोध्न अनुशासन समितिलाई निर्देशन दिएका हुन् ।

घिमिरेमाथि शुक्रबार क्रियाशील सदस्यता छानबिन भइरहेको गौशालास्थित होटलमा आक्रमण भएको थियो । केन्द्रीय सदस्य मोहन बस्नेतको निर्देशनमा सन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेतसहितका नेताहरूले घिमिरेमाथि आक्रमण गरेका थिए । 

‘क्रियाशील सदस्यता छानविन समितिले पेस गरेको निर्णय बमोजिमको पत्र अनुरुप केन्द्रीय सदस्य श्यामकुमार घिमिरेमाथि भएको आक्रमणका सम्बन्धमा सिन्धुपाल्चोक क्षेत्र नम्बर १ का सभापति बालकृष्ण बस्नेत समेतका ब्यक्तिहरुसँग २४ घण्टा भित्र स्पष्टीकरण लिई पार्टी विधान बमोजिम ३ दिनभित्र कार्वाहीको टुंगो लगाउन पार्टी अनुशासन समितिलाई सभापतिले निर्देशन दिनुभएको छ,’ पदाधिकारी बैठकपछि पार्टी केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।