शुक्रबार ३० जेठ, २०८२
Friday, June 13, 2025

रुसी आक्रमणपछि सर्बियाका नेताको पहिलो युक्रेन भ्रमण

बेलग्रेड- रुससँग बलियो सम्बन्ध राख्ने सर्बियाका राष्ट्रपति अलेक्सान्डर भुसिकले सन् २०२२ मा रुसले आक्रमण गरेपछि पहिलो पटक बुधबार युक्रेनको भ्रमण गर्ने राष्ट्रपतिको कार्यालयले घोषणा गरेको छ ।

रुससँग नजिकको ऐतिहासिक सम्बन्ध भएको यस बाल्कन राष्ट्रले युक्रेनमा मस्कोको तीन वर्षको आक्रमणमा तटस्थताको आधिकारिक नीति कायम राखेको छ र दुवै पक्षलाई हतियार दिएको कुरा अस्वीकार गरेको छ ।

तर हालैका दिनहरूमा रुसले सर्बियाली हतियार कम्पनीहरूमाथि युक्रेनलाई हतियार बेचेर ‘रुसको पिठ्युँमा छुरा प्रहार गर्ने प्रयास’ गरेको आरोप लगाएको छ ।

त्यसको केही हप्ताअघि भुसिक नाजी जर्मनीमाथि रुसको विजयका लागि मस्कोको रेड स्क्वायरमा ८०औँ वार्षिकोत्सव समारोहमा सहभागी भएका थिए ।

“सर्बियाली गणतन्त्रका राष्ट्रपतिले बुधबार जुन ११ का दिन युक्रेनको भ्रमण गर्नुहुनेछ, त्यहाँ उहाँले युक्रेन–दक्षिणपूर्वी युरोप शिखर सम्मेलनमा भाग लिनुहुनेछ”, राष्ट्रपति कार्यालयले एक विज्ञप्तिमा भन्यो ।

सर्बिया र युक्रेनले किएभले सर्बियाली हतियार प्रयोग गरेको पुष्टि वा अस्वीकार दुवै गरेका छैनन् ।

तीन वर्षअघि मस्कोले आक्रमण गरेपछि सर्बियाका राष्ट्रप्रमुखको युक्रेनको यो पहिलो भ्रमण हुनेछ ।

भुसिकले परम्परागत सहयोगी रुस र युरोपेली सङ्घ (इयु) मा सामेल हुने सर्बियाको चाहनाबीच सन्तुलन मिलाउने प्रयास गरेका छन् । इयु आक्रमणकारी रुसी सेनाविरुद्धको युद्धमा युक्रेनका मुख्य समर्थकहरूमध्ये एक हो ।

विशेष गरी सन् १९९९ मा कोसोभो युद्धको समयमा रक्षा सङ्गठनले सर्बियाली सेनामाथि बमबारी गरेपछि सर्बिया र रुस दुवैले नाटोप्रति घृणा र अविश्वास साझा गर्छन् ।

युक्रेनमा रुसको आक्रमणका बावजुद सर्बियाले संयुक्त राष्ट्रसङ्घमा आफ्नो लामो समयदेखिको सहयोगीविरुद्ध मतदान गरे पनि मस्कोसँगको सम्बन्ध तोड्न अस्वीकार गरेको छ ।

बेलग्रेड रुसबाट किन्ने सस्तो ग्यासमा अत्यधिक निर्भर छ । (एएफपी)