आइतबार ०१ असार, २०८२
Sunday, June 15, 2025

पोखराका दुई किसानले बेचे १५ लाख बढीका तरबुजा

गण्डकी- पोखरा महानगरपालिका–३३ सुरौदी खोला किनारास्थित तिखेढुङ्गामा दुई किसानले  रु १५ लाखभन्दा बढीका तरबुजा बेचेर छिमेकीलाई पनि यो फलको खेतीमा लाग्न प्रेरित गरेका छन् । 

सुरौदीको तिखेढुङ्गामा अगुवा कृषकद्वय रमेश आचार्य र ज्ञानबहादुर कार्कीले ३५ रोपनीमा तरबुजाखेती गरेकोमा ३० हजार किलोग्राम बिक्री गरेका छन् । प्रतिकूल मौसमका कारण रु पाँच लाख बरबरको  हानि भएको किसान आचार्यले जानकारी दिए । निरन्तरको वर्षाका कारण तरबुजा बिग्रिएका हुन् ।

स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्ने उद्देश्यले पोखरामा आयोजित तरबुजा मेलामा सुरौदीमा फलेको सात किलो ८६० ग्राम तौलको तरबुजा सबैभन्दा ठूलो पहिचानसमेत गरिएको थियो । उक्त तरबुजा फलाए वापत महानगरपालिकाले उहाँहरुलाई रु पाँच हजार नगदसहित पुरस्कृत गरेको थियो ।

सुरौदीसहित यसवर्ष पोखराका विभिन्न स्थानमा तरबुजाखेतीप्रतिको आकर्षण बढिरहेको पोखरा महानगरपालिका कृषि विकास शाखा प्रमुख मनोहर कडरियाले जानकारी दिए । परीक्षणका रूपमा  गरिएको तरबुजाखेती यसवर्ष दुई सय रोपनी क्षेत्रफलमा विस्तार भएको छ । महानगरपालिकाले तरबुजाखेतीका लागि बीउ र मलचिङमा सहयोग गरेको उनले बताए ।

पोखरा महानगर क्षेत्रका वडाहरूमध्ये वडा नं १३, २३, ३०, ३२ र ३३ मा यस खेतीप्रति आकर्षण बढिरहेको छ । यसवर्ष पोखरामा करिब चार सय टन (रु दुई करोड बराबर) को तरबुजा उत्पादन भएको छ । महानगरपालिकाले स्थानीय सरस्वती जातको तरबुजाको ‘ब्रान्डिङ’ र बजारीकरणका लागि स्टीकर तयार गरी प्रदान गरेको शाखा प्रमुख कडरियाले जानकारी दिए । रासस