बुधबार ०४ असार, २०८२
Wednesday, June 18, 2025

रत्ननगर पूर्ण खोप सुनिश्चितता घोषणा

चितवन- पूर्वी चितवनको रत्ननगर नगरपालिकालाई पूर्णखोप सुनिश्चितता तथा दिगोपना घोषणा गरिएको छ । नगरका १६ वटै वडाहरूबाट सम्पूर्ण प्रक्रिया पूरा गरी पूर्ण खोप सुनिश्चितता घोषणा गरिएको हो ।
 
सोह्र महिनादेखि २३ महिनासम्मका सबै बालबालिकालाई १५ महिना उमेरभित्र पाउनुपर्ने सबै खोपको सुनिश्चितता भएकाले जिल्ला खोप समन्वय समितिको बैठकको निर्णयअनुसार पूर्णखोप दिगोपना सुनिश्चितताको आज एक कार्यक्रमका बीच प्रमाणपत्र प्रदान गरिएको हो ।
 
जिल्ला समन्वय समितिका प्रमुख एवम् जिल्ला खोप समन्वय समितिका संयोजक नारायणप्रसाद अधिकारी र खोप समितिका सदस्यसचिव एवम् जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रूपाखेतीले रत्ननगरलाई पूर्णखोप दिगोपना सुनिश्चितताको प्रमाणपत्र प्रदान गरेका हुन् । सो अवसरमा १६ वटै वडालाई पूर्णखोप वडाको प्रमाणपत्र प्रदान गरिएको थियो ।
 
अधिकारीले पूर्ण खोप दिगोपना सुनिश्चितता घोषणा गराउन महत्वपूर्ण भूमिका खेल्ने स्वास्थ्यकर्मी, सामुदायिक महिला स्वास्थ्य स्वयंसेविका तथा सम्पूर्ण सरोकारवालाप्रति धन्यवाद ज्ञापन गरे । उनले पूर्णखोप दिगोपना सुनिश्चितता घोषणा सम्पूर्ण नगरवासीका लागि हर्ष र खुसीको विषय भएको उल्लेख गर्दै आगामी दिनमा पनि यसलाई निरन्तरता दिन आग्रह गरे ।
 
नगरप्रमुख प्रलाद सापकोटाले रत्ननगरलाई पूर्णखोप घोषणा गरिएकोमा खुसी व्यक्त गर्दै पूर्णखोपलाई दिगोपन दिनु महत्वपूर्ण विषय भएको बताए ।
 
कार्यक्रममा बकुलहर रत्ननगर अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट डा. मदन ज्ञवालीले वडामा खोप लगाउन छुटेका बालबालिकालाई बकुलहर रत्ननगर अस्पतालमा सोमबार र मङ्गलबार खोप लगाउने व्यवस्था गरिएको जानकारी दिए ।
 
जनस्वास्थ्य कार्यालय चितवनका प्रमुख दिनेश रूपाखेतीले नेपालको संविधान २०७२ ले पूर्णखोप पाउने सुनिश्चित गरेको र संविधानप्रदत्त हकबमोजिम १५ महिनाभित्रका बालबालिकालाई १३ प्रकारका खोप लगाइँदै आएको बताए ।