‘मानवीय त्रुटिका कारण मनसुनजन्य विपद्का घटना बढिरहेका छन्’

मोरङ- कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विकास निर्माणका संरचना बनाउने क्रममा मानवीय त्रुटि हुँदा मनसुनजन्य विपद्का घटना बढिरहेका बताएका छन् ।
आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आज यहाँ आयोजित मनसुनजन्य घटना न्यूनीकरणका लागि पूर्वतयारी तथा प्रतिकार्य योजना संवाद कार्यक्रममा उनले नीति तथा कानुनको उल्लङ्घन गरी भौतिक पूर्वाधार निर्माण अघि बढाएकाले मनसुनजन्य विपद्को जोखिम बढ्दै गएको धारणा राखे ।
उनले भने, “पछिल्ला दिनमा मनसुनजन्य विपद्ले आर्थिक, भौतिक र मानवीय क्षति गरिरहेको छ । यसको मुख्य जिम्मेवारी हामी आफैँ रहेकाले यसप्रति सचेत भई सच्याउनु जरुरी छ ।”
मुख्यमन्त्री कार्कीले सुरक्षाकर्मीले समूहगत रूपमा नागरिकका घरमा पुगी सर्पदंश, आगलागी, बाढीपहिरोलगायत विपद्का जोखिमबाट बच्ने उपायका सम्बन्धमा जनचेतना जागृत गराउनु आवश्यक भएको धारणा राखे । उनले सरकार मानवीय जीवन, भौतिक संरचना र प्राकृतिक स्रोत जोगाउने विषयमा गम्भीर रहेको बताए ।
आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले प्रदेश सरकारले पाँचवर्षे ‘प्रदेश विपद् व्यवस्थापन रणनीति कार्ययोजना’ कार्य अघि बढाएको जानकारी दिए । उनले प्रदेशका मनसुनजन्य अति जोखिम दुई हजार ४६६ घरपरिवारलाई स्थान्तरण कार्यमा स्थानीय तहको सहयोगमा कार्य सुरु गरिएको उल्लेख गरे ।
मन्त्रालयका सचिव रामप्रसाद आचार्यले प्रदेशको विपद् क्षति न्यूनीकरण व्यवस्थापन गर्न रणनीतिक योजना कार्यान्वयनमा आएको जानकारी दिँदै गत जेठ १८ देखि आगामी असोज १४ गतेसम्म प्रदेशमा मनसुनजन्य जोखिम रहेको जल तथा मौसम विज्ञान विभागबाट सूचना प्राप्त भएकाले सबै सचेत हुनुपर्नेमा जोड दिए ।
पूर्वसचिव केदार न्यौपानेले ‘मनसुन हिजो, आज र भोलि’ विषयक कार्यपत्र प्रस्तुत गर्नुभएको थियो भने ‘२०८१ सालको मनसुन चित्रहरूमा’, डिपिनेटका अध्यक्ष डा राजु थापाले कार्यपत्र प्रस्तुत गरेका थिए ।
जल तथा मौसम विज्ञान विभाग धरानका रुद्र परियारले ‘२०८२ सालको मनसुन प्रक्षेपण’, राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण गोमा चेम्जोङले ‘सङ्घीय मनसुन पूर्वतयारी तथा प्रतिकार्य योजना’ विषयक कार्यपत्र प्रस्तुत गरेका थिए । विषयविज्ञ रामकुमार दाहाल र यसप्रसाद सुब्बाले प्रदेशको मनसुनजन्य विपद्सम्बन्धी पूर्वतयारी तथा प्रतिकार्यसम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए ।

तिम्ल्याहा शिशु जन्माएकी हीरालाई ५० हजार सहयोग

राजस्व र व्ययको वार्षिक अनुमान माथिको छलफल समाप्त

एसियाली राजमार्ग : काँकडभिट्टा-लौकही खण्डमा कालोपत्र थालियो

कृषकलाई अनुदानमा कृषि उपकरण वितरण

बराहक्षेत्रमा जङ्गली हात्ती मृत फेला

भोजपुरमा विद्युत् सेवा विस्तार

स्वच्छ पानी उपभोग गराउन ‘बायो स्याण्ड फिल्टर’ वितरण

प्रतिक्रिया