बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

बाल गीतान्जली स्कुलमा नवआगन्तुक विद्यार्थी तथा शिक्षकलाई स्वागत

कागेश्वरी मनोहरा नगरपालिका–७ , मूलपानीमा अवस्थित बाल गीतान्जली स्कुलले सोमबार एक भव्य र सुसंस्कृत स्वागत कार्यक्रम आयोजना गरी विद्यालयमा हालै भर्ना भएका नवआगन्तुक विद्यार्थीहरू तथा नयाँ नियुक्त शिक्षक तथा कर्मचारीहरूलाई औपचारिक रूपमा स्वागत गरेको छ ।

कार्यक्रमको अध्यक्षता विद्यालयका प्रिन्सिपल महेन्द्र राज घिमिरेले गर्नुभएको थियो। कार्यक्रममा विद्यालय परिवारका सम्पूर्ण सदस्यहरू, अभिभावक प्रतिनिधिहरू, स्थानीय समाजसेवीहरू तथा अन्य सम्मानित अतिथिहरूको पनि उल्लेखनीय उपस्थिति रहेको थियो। कार्यक्रमलाई आकर्षक, जीवन्त र हर्षोल्लासपूर्ण बनाउन विद्यालयका विद्यार्थीहरूले विभिन्न सांस्कृतिक कार्यक्रमहरू प्रस्तुत गरेका थिए जसमा स्वागत गीत, समूह नृत्य आदि समावेश थिए।

कार्यक्रममा विद्यालयका प्रिन्सिपल घिमिरेले शिक्षा क्षेत्रमा निरन्तर रूपले नवप्रवेशी विद्यार्थीहरूलाई आवश्यक मार्गदर्शन र अवसर उपलब्ध गराउने प्रतिबद्धता दोहोर्‍याए। उहाँले भने, “शिक्षा भनेको केवल पाठ्यपुस्तकमा सीमित हुँदैन, यसले हाम्रो जीवनशैली, सोच र व्यवहारमा सकारात्मक परिवर्तन ल्याउनु पर्छ।”

उक्त अवसरमा विद्यालय व्यवस्थापन समितिका प्रतिनिधिहरूले शिक्षक–शिक्षिका तथा कर्मचारीहरूलाई विद्यालयको मूल्य, दृष्टिकोण र दायित्वबारे जानकारी गराएका थिए।

कार्यक्रमको मुख्य आकर्षण भनेको नवआगन्तुक विद्यार्थीहरूलाई खादा लगाएर र विद्यार्थीको फोटो सहितको  मायाको चिनो प्रदान गरी गरिने सम्मान थियो। यसले विद्यार्थीहरूमा आत्मीयता र अपनत्वको भावना जगाएको थियो। यस्तै, नयाँ शिक्षक तथा कर्मचारीहरूलाई पनि विद्यालय परिवारमा अभिन्न सदस्यको रूपमा स्वागत गरिएको थियो।

अभिभावक प्रतिनिधिहरूले विद्यालयको यो प्रयासको खुलेर प्रशंसा गरे। एक अभिभावकले भने, “बाल गीतान्जली स्कुलले केवल पठनपाठन मात्र होइन, विद्यार्थीको समग्र विकासलाई ध्यान दिँदै आउनु विद्यालयको एक विशेषता हो।”

कार्यक्रमको अन्त्यमा विद्यालयका जन सम्पर्क  अधिकृत कृष्ण थापाले आगामी नयाँ शैक्षिक सत्रका लागि सबै विद्यार्थी, शिक्षक र अभिभावकलाई शुभकामना दिँदै, अनुशासन, मेहनत र समर्पणका साथ अघि बढ्न प्रेरणा प्रदान गरे। उनले भने, “समर्पित मन, सकारात्मक सोच र निरन्तर प्रयासबाट असम्भव जस्तो देखिने लक्ष्यहरू पनि सजिलै हासिल गर्न सकिन्छ।

कार्यक्रममा उपस्थित नेपाल स्काउटका सहायक् राष्ट्रिय प्रशिक्षक विदुर गिरीले यस प्रकारको स्वागत समारोहले विद्यार्थी, शिक्षक र अभिभावकबीचको आपसी सम्बन्धलाई अझ बलियो, विश्वासिलो र सकारात्मक बनाउने विश्वास व्यक्त गरेका छन् । 

बाल गीतान्जली स्कुलले आगामी दिनहरूमा पनि यस्ता कार्यक्रमहरू मार्फत शैक्षिक वातावरणलाई अझ समृद्ध, प्रेरणादायी र विद्यार्थी–केन्द्रित बनाउने स्पष्ट संकेत दिएको छ।