बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

अर्थ समितिको आन्तरिक उत्पादन प्रवद्र्धन हुने गरि करका दरमा निर्णय लिन सरकारलाई ध्यानाकर्षण

फाइल तस्विर

प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिले आन्तरिक उत्पादन प्रवद्र्धन हुने गरि करका दरमा उचित निर्णय लिन सरकारको ध्यानाकर्षण गराएको छ । सिंहदरबारमा बुधबार बसेको समिति बैठकले आर्थिक विधेयक सदनमा बिचाराधीन रहेको अवस्थामा कुनै निर्देशन दिन उचित नहुने भएकाले करका दरमा आएका सुझावहरुलाई समेत मध्यनजर गर्दै अघि बढ्न सरकारको ध्यानाकर्षण गराएको हो ।

आर्थिक विधेयक पारित भइसकेपछि पनि आवश्यकता र औचित्यका आधारमा करका दर हेरफेर हुनसक्ने भएकाले व्यवसायीहरुले राखेका मागका सन्दर्भमा अध्ययन गरि त्यसको मूल्याङ्कन गरेर उचित निर्णय लिन अर्थ मन्त्रालयको ध्यानाकर्षण गराइएको समिति सभापति सन्तोष चालिसेले बताए ।

त्यस्तै बैंक तथा वित्तीय संस्थासम्बन्धी ऐन, २०७३ (बाफिया) लाई संशोधन गर्न बनेको विधेयकका सन्दर्भमा पुनर्लेखन आवश्यक नरहेको भन्दै जवाफ अर्थ मन्त्रालयले समितिलाई पठाएको सभापति चालिसेले जानकारी दिए । उनले विधेयकमा संशोधनको आवश्यकता भए समितिबाट संशोधन गरेर अघि बढाउन समेत मन्त्रालयले सुझाव दिएको उल्लेख गरे ।

डिजिटल मुद्रा प्रयोग तथा डिजिटल बैंकिङलाई कानुनी मान्यता दिने, बैंक सञ्चालक समितिमा रहेका व्यक्तिको जिम्मेवारीमा स्पष्टता खोज्ने, आफैँ शेयरधनी रहेका बैंकबाट ठूलो कर्जा लिने प्रवृत्तिलाई निरुत्साहन गर्ने लगायतका व्यवस्था गर्दै सरकारले २०८० चैतमा उक्त विधेयक सदनमा दर्ता गरेको थियो ।