बुधबार ११ असार, २०८२
Wednesday, June 25, 2025

बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरि मौद्रीक नीति ल्याउन सुझाव

उद्योगी व्यवसायीहरुले अर्थतन्त्र चलायमान बनाउने र बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने गरि मौद्रीक नीति ल्याउन सुझाव दिएका छन् । मोरङ उद्योग वाणिज्य संघले बुधबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै नेपाल राष्ट्र बैंकले ल्याउन लागेको मौद्रीक नीति अर्थतन्त्र चलायमान बनाउने र बैंकमा थुप्रिएको लिक्विडिटीलाई बजारमा ल्याउने प्रकारको आउनुपर्ने माग गरेका हुन् ।

उद्योगी व्यवसायीहरुले बैंक तथा वित्तिय संस्थामा नगद मौज्दात थुप्रिदै गएको र बजार चलायमान हुन नसकेको अवस्थामा चालू पूँजी कर्जा सिमालाई ६० प्रतिशत बढाउनुपर्र्ने व्यवसायीहरुको माग छ । मोरङ उद्योग व्यापार संघका अध्यक्ष अनुपम राठीले जनताको क्रयशक्ति बढाउन सरकारको पूँजीगत खर्च बढाउनुपर्ने र बजारमा प्रशस्तै पैसा आउने औद्योगिक वातावरण निर्माणका लागि मौद्रिक नीति केन्द्रित हुनुपर्ने धारणा राखे ।

उद्योगी व्यवसायीहरुले मौद्रिक नीति थप व्यवहारिक र उदार हुनुपर्ने धारणा व्यक्त गरेका छन् । उनीहरुले घरजग्गा कारोबारलाई थप चलायमान बनाउन मुल्यांकनको सिमा ७० प्रतिशत सम्म पुर्‍याउन माग गरेका छन् । सुनसरी मोरङ औद्योगिक कोरिडोरमा करिब ६ सय ५० वटा साना ठूला उद्योगहरु संचालनमा रहेकोमा बजारको मागका कारण ५० प्रतिशत क्षमतामा संचालन भईरहेका छन् ।