शुक्रबार १३ असार, २०८२
Friday, June 27, 2025

रास्वपा मुकुल विवादमा १७ गते दुवै पक्षलाई बोलाउन सर्वोच्च अदालतको आदेश

काठमाडौं- आफूले राष्ट्रिय स्वतन्त्र पार्टीको महामन्त्रीको हैसियतमा काम गर्न पाउनुपर्ने माग राख्दै डा. मुकुल ढकालले दायर गरेको रिटमाथि सुनुवाइपछि दुवै पक्षलाई १७ गते मंगलबार छलफलका लागि बोलाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।

न्यायाधीश कुमार रेग्मीको इजलासले रिट निवेदकले माग गरे बमोजिम अन्तरिम आदेश दिन मिल्ने वा नमिल्ने भन्ने निर्णय गर्नका लागि मंगलबार दुवै पक्षलाई छलफलका लागि बोलाउन आदेश दिएको हो ।

निर्वाचन आयोगले आफ्नो रेकर्डमा रास्वपाको महामन्त्री मुकुल ढकाल नै रहेको सार्वजनिक गरेपछि ढकालले अदालतमा मुद्दा हालेका हुन् । उनले अदालतबाट उत्प्रेषण आदेश माग गरेका छन् । उनले रिटमा पार्टीको केन्द्रीय कार्यालयसहित महामन्त्री कविन्द्र बुर्लाकोटी, प्रवक्ता मनिष झा, सभापति रवि लामिछाने लगायतलाई विपक्षी बनाएका छन् ।